
वीरगन्ज, ३ फागुन– कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्याक्टरबाट सञ्चालित मकै रोप्ने मेसिन ‘ज्याबसिडर’ को पहिलो पटक परीक्षण तथा प्रदर्शन गरेको छ ।
नेपालको खेती प्रणालीमा सुहाउँदो र कम लागतमा मकैको उत्पादन र उत्पादकत्व बढाउने खालको उक्त मेसिन पहिलोपटक नेपाल भित्रिएको केन्द्रको दाबी छ । यसको प्रयोगबाट किसानलाई मकै रोप्ने खर्चमा ३० देखि ४० प्रतिशत फाइदा पुग्ने अनुमान कृषि वैज्ञानिक तथा प्राविधिकको छ ।
यस क्षेत्रका किसान, मकै अनुसन्धानकर्ता र प्राविधिकको रोहबरमा केन्द्रले पहिलोपटक बाराको भलुई भरबलिया गाविसका किसान पारस ठाकुरको खेतमा उक्त मेसिनको परीक्षण तथा प्रदर्शन गरिएको हो ।
चिनमा निर्मित र त्यहाँबाट मुलुकमै पहिलो पटक आयातित उक्त मेसिनले मल, बीउ र बीउलाई माटोले छोप्ने कार्य एकै साथ गर्छ । उक्त प्रविधियुक्त मेसिनमा बीउ र मलका छुट्टाछुट्टै प्लेट रहेका छन् । ट्याक्टरमा जोडेर चलाउन सकिने अर्धस्वचालित यो उपकरणबाट प्रतिघन्टा १५ कट्ठा खेतमा मकै रोप्न सकिने दाबी केन्द्रको छ ।
‘परम्परागत तरिकाभन्दा यो उपकरणले खेती गर्दा मकैको उत्पादन र उत्पादकत्व झन्डै चार गुणा बढी हुने अनुमान गरिएको छ,’ कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जका प्रमुख ईश्वरीप्रसाद उपाध्यायले भने, ‘मकैको व्यावसायिक खेतीका लागि केन्द्रले यो मेसिन खरिद गरेर नेपालमा पहिलोपटक परीक्षण गरेको हो ।’