
गौशाला, ३ फागुन – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका करिब ९०० जनालाई अब बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्ने भएको छ ।
सो कार्यालयलले जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रभु विकास बैंकमार्फत नगर क्षेत्रमा सामाजिक सुरक्षा बाँड्ने भएको जलेश्वर नगरपालिका कार्यालयका कार्यकारी अधिकृत रमेश दासले जानकारी दिए ।
नगरपालिकाले सो बैंकसँग सम्झौता गरिसकेको छ र यस महिनापछि नगरक्षेत्रमा सोही बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्ने भएको प्रभु विकास बैंक जलेश्वर शाखाका प्रबन्धक मनोजकुमार साहले बताए ।
कार्यकारी अधिकृत दासका अनुसार बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्न नगरपालिकाले नगरक्षेत्रका प्रत्येक भत्ता पाउने व्यक्तिहरूको नाउँमा सो बैंकमा खाता खोल्ने काम सुरु गरिसकेको छ ।
जलेश्वर नगरपालिका क्षेत्रभित्र ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग गरी करिब ९०० सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति रहेका छन् ।