अनुदान कटौतीपछि अनाथालय सङ्कटमा

काठमाण्डु टुडे २०७० फागुन २ गते ४:१५ मा प्रकाशित

कञ्चनपुर, २ फागुन – कञ्चनपुरको बाल अनाथालयमा आर्थिक सङ्कट उत्पन्न भएको छ । कञ्चनपुरको भीमदनगरपालिका–४ महेन्द्रनगरमा रहेको महाकाली बाल अनाथालयमा सरकारले अनुदान कटौती गरेपछि समस्या उत्पन्न भएको हो ।

आर्थिक अभावका कारण अनाथालयमा बस्ने बालबालिका लागि बिहान–बेलुका राम्ररी खान नपाउने अवस्थामा पुगेको अनाथालय सञ्चालन समितिका अध्यक्ष नारद पाण्डेयले बताए । पाण्डेयका अनुसार पहिले सरकारबाट आठ लाख आउँथ्यो, हाल तीन लाख मात्रै आउने गरेको छ ।

बाइस वर्षअघि सरकारले नै स्थापना गरेको सुदूरपश्चिमको एक मात्र बाल अनाथालय सरकारी अनुदान कटौती भएपछि त्यहाँ आश्रय लिइरहेका ३२ जना अनाथ बालबालिका अप्ठ्यारोमा परेका छन् ।

‘उधारैउधारो भइसक्यो दाल चामल किन्न पनि मुस्किल भएको छ’–अध्यक्ष पाण्डेयले भने । अनाथालय सञ्चालनका लागि वार्षिक २० लाख बराबर खर्च हुने गरेको छ । जिल्ला विकास समितिबाट चार लाख र भीमदत्त नगरपालिकाबाट एक लाख वार्षिकरुपमा अनुदान आउने गरेको छ । अन्य विभिन्न सङ्घसंस्थाको पनि सहयोग रहेको अध्यक्ष पाण्डेले बताए । तर यस्तो सहयोग अपर्याप्त रहेको उनको भनाइ छ ।

आमाबुवा गुमाएका यी बालबालिकाले महेन्द्रनगरका विभिन्न विद्यालय तथा उच्चमाविहरुमा अध्ययन गरिरहेका छन् । उनीहरुका लागि सरकारले दिँदै आएको अनुदान २०६१ सालदेखि घट्दै आएको थियो ।

२०४९ सालमा अनाथालय स्थापना गरेपनि सरकारले प्रत्येक वर्ष आठ लाखका दरले अनुदान दिँदै आएको थियो । २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको पक्षमा निकालिएको र्यालीमा अनाथालयका बालबालिकालाई सहभागी नगराएपछि तत्कालीन महाकाली अञ्चल प्रशासक महेन्द्रमान व्यथितले अनुदान रकम कटौती गर्न लगाएको बताइन्छ ।

सरकारले गत वर्ष दुई लाख ५० हजार मात्र उपलब्ध गराएको थियो । यहाँ आश्रित बालबालिकाका लागि खानपिन, लुगाकपडा तथा शैक्षिक सामग्री गरेर वार्षिक करिब २० लाख खर्च हुने अनाथालयले जनाएको छ ।

आर्थिक सहयोग सङ्कलन, सवारी अनुमतिपत्रका लागि भर्नुपर्ने दरखास्त फाराम, मालपोत कार्यालयमा जग्गा बेचबिखन गर्दा भर्नुपर्ने फाराम तथा जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि भर्नुपर्ने फाराम बिक्री गरेर अनाथालयको खर्च धानिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us