पानीबाट १२ लाख राजस्व सङ्कलन

काठमाण्डु टुडे २०७० फागुन २ गते २:०८ मा प्रकाशित

विराटनगर, २ फागुन । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले यस वर्ष किसानलाई सिँचाइ सुविधा दिएबापत १२ लाखभन्दा बढी पानीपोत सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७०/७१ मा उठेको रु १२ लाखमध्ये २० प्रतिशत नेपाल सरकारको राजस्वमा जम्मा हुने र पानीपोत उठाउने जल उपभोक्ता समितिले ८० प्रतिशत खर्च गर्ने प्रावधान रहेको छ ।

जल उपभोक्ता समितिले सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गतको नहरबाट पानी खेतबारीमा लगाएबापत किसानसँग पानीपोत उठाउँदै आएको आयोजनाले जनाएको छ । सोही ८० प्रतिशतबाट उपभोक्ता समितिले नहरमा भएको सामान्य खराबी र नहर सामान्य रुपमा बिगे्रमा मर्मतसमेत गर्ने गरेका छन् ।

एक हेक्टर जमिनमा पानी सिँचाइ सुविधा लिएबापत प्रत्येक वर्ष ३०० पानीपोत तिर्नुपर्ने भए पनि केही किसानले उक्त रकम पनि तिरेका छैनन् र जल उपभोक्ता समितिले लिन नसकेको बताइएको छ  ।

यसैबीच सुनसरी मोरङ सिँचाइ आयोजनाको मातहतमा रहेको नहर एवम् नहरको छेउमा बनाइएको घरटहराहरु छिट्टै भत्काइने प्रक्रिया अगाडि बढाइएको छ । सुनसरी मोरङ सिँचाइ योजनाको स्थायित्वमा रहेको जग्गामा घरटहरा बनाउँदा नहर सफा गर्ने, नहरबाट निस्केको बालुवा, झारपात निकाल्नसमेत कठिनाइ परिरहेको हँुदा उक्त कठिनाइअन्तर्गत कार्यालयले सो अभियान सञ्चालन गर्ने भएको छ ।

भत्काइने घरटहरामा रहेको जग्गामा नहरको माटो राखी त्यसलाई सम्याउने र वृक्षरोपण गर्ने सिँचाइ आयोजनाले योजना बनाएको आयोजना प्रमुख महाजन यादवले बताए । सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत एक हजार ९८५ जल उपभोक्ता समितिसमेत रहेका छन् ।

ती समितिले नहरबाट पानी किसानले पाए÷नपाएको, नहर फुटेको छ/छैन, नहरमा झारपात जमेको छ÷छैन सो हेरी कार्यालयलाई जानकारीसमेत गराउने गरेको छ तर उपभोक्ता समिति नहरको सुरक्षातर्फ त्यति गम्भीर नभएको किसानको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us