
वीरगन्ज, १ फागुन– माछा उत्पादनमा आत्मनिर्भर बन्ने र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले उन्नत माछा उत्पादन विषयक तीनदिने जिल्लास्तरीय तालिम सम्पन्न भएको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्साद्वारा आयोजित उक्त तालिममा यहाँका २२ जना मत्स्य उत्पादनमा संलग्न कृषकको सहभागिता रहेको छ । माछाको पकेट क्षेत्रका रूपमा विकास भएका गाविसका कृषकलाई यो तालिममा विशेष प्राथमिकताका साथ सहभागी गराइएको छ ।
अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माणका लागि पर्साको रामनगरी, तुल्सीवर्वा, मूर्ली र वीरगन्जलाई विशेष प्राथमिकतामा राखिएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।
तालिममा माछा पोखरीका लागि जग्गा छनोट, पोखरी निर्माण, नयाँ पोखरी तयार भइसकेपछि वा पुरानो पोखरीको पानी सुकाएर मर्मत गर्दा ध्यान दिनुपर्ने कुरा, मत्स्य उत्पादन, माछाका लागि कृत्रिम दानाको प्रयोग, मत्स्य रोग नियन्त्रण, मत्स्य नर्सरी, पोखरीमा अक्सिजनको कमी हुदा देखापर्ने लक्षण र त्यसबाट माछालाई बचाउने उपाय, माछा भण्डारण र यसको बजार व्यवस्थापन लगायतका विविध विषयमा प्रशिक्षण दिएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास प्राविधिक दयाराम हरिजनले बताए ।