पशुपालन व्यवसाय सङ्कटमा

काठमाण्डु टुडे २०७० फागुन १ गते १०:५८ मा प्रकाशित

बर्दिवास, १ फागुन– महोत्तरीमा पशुपालन व्यवसाय सङ्कटमा परेको छ । वर्षौंदेखि पशुपालन व्यवसाय निकै फस्टाएकाले जिल्लामा पछिल्लो एक दशकयता चरण क्षेत्र मासिँदै जाँदा यो व्यवसाय सङ्कटमा परेको पशुपालक किसानले बताएका हुन् ।

जिल्लामा पशुपालन व्यवसायका लागि उपयुक्त ठानिएका भङ्गाहा, हतिसर्वा, सिङ्ग्याही, बगडा, किसाननगर, पशुपतिनगर, हात्तीलेट, माईस्थान, गौरीवास, रामनगर, बेलगाछी र खयरमारालगायतका गाविसमा चरन मासिँदै गएपछि पशुपालन व्यवसाय धान्न मुस्किल परेको किसानको भनाइ छ ।

एकदशक अघिसम्म आफ्नो गोठमा ५० वटा गाई र पाँचवटा भैँसी पालिने गरेकामा अहिले चरन मासिँदै जाँदा पशुहरू घटाउँदै जानुपरेको भङ्गाहा–४ का किसान छविलाल दाहालले बताए ।

दिनहुँ सय लिटर दूध दुहुने आफ्नो गोठमा अहिले १०/१५ लिटरमा झरेको दाहालको भनाइ छ । रातु र बडहरी नदी किनारको घसिलो चरन क्षेत्र अतिक्रमण हुँदै जाँदा यो व्यवसायलाई निरन्तरता दिन गाह्रो परेको भङ्गाहा, हतिसर्वा, सिङ्ग्याही, बगडा, किसाननगर र पशुपतिनगरका बासिन्दाको भनाइ छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us