ट्र्याक्टरबाटै रोपिन्छ उखु

काठमाण्डु टुडे २०७० फागुन १ गते १०:५० मा प्रकाशित

वीरगन्ज, १ फागुन । यदि तपाईं मजदुर अभावका कारण समयमा उखुखेती गर्न सकिराख्नुभएको छैन भने पनि अब चिन्तित हुनुपर्दैन् । यसका लागि कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले ट्र्याक्टरबाट सञ्चालित उखु रोप्ने मेसिन नेपाल भित्र्याइएको छ ।

कम लागतमा उखुको उत्पादन र उत्पादकत्व बढाउने खालको उक्त मेसिन पहिलोपटक नेपाल भित्रिएको दाबी केन्द्रले गरेको छ । यसको प्रयोगबाट उखु रोप्ने खर्चमा ३० देखि ४० प्रतिशत फाइदा पुग्ने अनुमान केन्द्रको छ ।

यस क्षेत्रका किसान, उखु अनुसन्धानकर्ता, प्राविधिक, चिनी मिलका प्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा केन्द्रले पहिलोपटक बाराको जितपुरस्थित उखुबाली अनुसन्धान कार्यक्रम परिसरमा उखु रोप्ने उक्त मेसिनको परीक्षण तथा प्रदर्शन गरेको छ ।

भारतको मरेठस्थित मोगा इन्जिनियरिङ वक्र्सले उत्पादन गरेको यो उपकरणले उखु रोप्ने नाला बनाउने, काटेर उखुको बीउ रोप्ने, मल झार्ने, माटो तथा बीउमा लाग्नसक्ने रोगको नियन्त्रणका लागि विषादी छर्ने र उखुको बीउ माटोले छोप्ने कार्य एकै साथ गर्छ ।

ट्र्याक्टरमा जोडेर चलाउन सकिने अर्धस्वचालित यो उपकरणमा सञ्चालनका लागि तीनजना मजदुर चालकका पछाडि बस्छन् । ती मजदुरले मुख्यरूपमा उखुको बीउ राख्ने कार्य गर्छ ।

कम लागतमा उखुको उत्पादन तथा उत्पादकत्व बढाउने यो उपकरण केन्द्रले दुई लाख ९९ हजारमा खरिद गरेको जनाएको छ । उक्त प्रविधियुक्त मेसिनमा बीउ, मल र विषादीका छुट्टाछुट्टै प्लेट रहेका छन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us