धरौटी राखेको सुन बैंकले फिर्ता दिन मानेन

काठमाण्डु टुडे २०७० माघ २९ गते ११:४० मा प्रकाशित

कालीकोट, २९ माघ– कालीकोट जिल्लाको एकमात्र राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि धरौटीमा राखिएको सुन फिर्ता नपाउँदा ऋणी दोहोरो मारमा परेका छन् ।

व्यापार व्यवसाय गर्नका लागि सुन बन्धकी राखेर बैंकबाट पैसा निकालेका ऋणीले पैसा फिर्ता गर्न खोज्दा बैंकले सुन नदिएपछि उनीहरूले खाली ब्याज तिर्नु परेको गुनासो आएको छ । ऋणी भन्छन् बैंकले धरौटी राखेको सुन फिर्ता नदिँदा हजाराँै रूपैयाँ बिनाकारण ब्याज तिर्नु परेको छ यसले गर्दा आफूलाई घाटा भएको छ ।

विसं २०७० असोज २६ गते राष्ट्रिय वाणिज्य बैंकमा चोरी भएपछि बैंकिङ कारोबारमा सेवाग्राहीले दुःख पाउने गरेका छन् । बैंक चोरी भएका कारण कामकाजमा बाधा पुगेकाले समयमा समस्याको समाधानका लागि केन्द्रलाई खबर गरेको तर अख्तियारी नदिएका कारण समस्या आएको बैंकका कर्मचारीको भनाइ रहेको छ ।

चोरी भएको सबै विवरण केन्द्रमा पठाइए पनि सबै कारोबारका लागि नयाँ प्रबन्धकलाई अनुमति नदिएका कारण ऋणीले बैंकमा राखेको सुन फिर्ता दिन नसकिएको बैंकले जनाएको छ ।

बैंक चोरी भएपछि बैंकका क्यासिएर, निमित्त प्रबन्धक र दुई जना सुरक्षागार्डका नाममा मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि अनुसन्धानको काम जारी रहेको र मुद्दामा मुछिएका निमित्त प्रबन्धक, क्यासिएर र एक जना सुरक्षागार्ड धरौटीमा छुटेका छन् भने एकजना सुरक्षागार्ड धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

जिल्लामा एकमात्र बैंक भएका कारण कहिले रकम अभावको समस्या आउने त कहिले सेवाग्राहीले घन्टौँ लाइन लागेर पनि रकम पाउन नसक्ने अवस्थाका कारण समस्या आउने गरेको छ । जिल्लामा निजी बैंकले कारोबार गर्नका लागि निर्धन उत्थान बैंकले काम थालनी गरेको छ भने ग्लोबल बैंक आउने अन्तिम तयारीमा रहेको जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us