कौसी तरकारीखेतीतर्फ आकर्षण बढ्दै

काठमाण्डु टुडे २०७० माघ २९ गते ११:३७ मा प्रकाशित

कीर्तिपुर, २९ माघ– कीर्तिपुर र यस आसपासका क्षेत्रमा कौसी तरकारीखेतीतर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।

बढ्दो बस्तीको क्रमसँगै तरकारीखेतीका लागि जग्गाको अभाव हुने गरेको अहिलेको अवस्थामा कतिपयले आफ्नो शौखका रूपमा पनि कौसी तरकारीखेती गर्न थालेका छन् ।

तरकारीखेतीका लागि जग्गा नभएको अवस्थामा घरको छतमा प्लास्टिक तथा गमलाको प्रयोग गरी आफ्नो घरका लागि आवश्यक पर्ने तरकारी लगाउने गरिन्छ ।

विगतका समयमा फूलका गमला मात्र छतमा राख्ने गरिएको भएपनि पछिल्लो समयमा तरकारीखेती समेत गर्न थालिएको कीर्तिपुर टाउन प्लानिङ्मा बस्ने रामकृष्ण आचार्यले बताए ।

पछिल्ला समयमा बढ्दो बस्तीले गर्दा तरकारीखेतीका लागि जग्गा अभाव हुने गरेकामा तरकारीखेती गर्ने वैकल्पिक उपायका रूपमा यो प्रविधि उपयोग गर्न थालिएको उनले बताए ।

उनका अनुसार यो प्रविधिको उपयोगले घरमा आवश्यक पर्ने तरकारीको सहजै आपूर्ति गर्न सकिन्छ ।

कीर्तिपुरको नयाँबजार, ट्याङ्लाफाँटका साथै पाँगा टाउन प्लानिङ् क्षेत्रका जनतामा विस्तारै कौसी तरकारीखेतीतर्फ आकर्षण बढिरहेको स्थानीयवासी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us