आयआर्जनको माध्यम बाख्रापालन

काठमाण्डु टुडे २०७० माघ २८ गते ३:१९ मा प्रकाशित

DSC05490कीर्तिपुर, २८ माघ – काठमाण्डु दक्षिणभेगस्थित चाल्नाखेल र यस आसपासका क्षेत्रमा बाख्रापालन आयआर्जनको महत्वपूर्ण माध्यम बन्दै गएको छ ।

बाख्रापालनबाट लगानी अनुसारको प्रतिफल प्राप्त हुने गरेको भन्दै यस क्षेत्रका कृषक बाख्रापालन व्यवसायलाई व्यावसायिक रुप दिन थालेका छन् ।

काठमाण्डु, ललितपुर र भक्तपुरका साथै मकवानपुरको हेटाँैडा लगायतका स्थानमा पनि यस क्षेत्रबाट खसी–बोकाहरु निर्यात हुन थालेसँगै यस क्षेत्रका कृषक बाख्रापालनतर्फ आकर्षित बन्न थालेको स्थानीय कृषक राजन श्रेष्ठले बताए ।

काठमाण्डु दक्षिण भेगका चाल्नाखेल, सेतीदेवी, दक्षिणकाली, छैमले, टल्कु डुडेचौर लगायतका स्थानमा बाख्रापालनका लागि आवश्यक घाँस प्रशस्त मात्रामा पाइने भएका कारण पनि यो क्षेत्र बाख्रापालनका लागि अत्यन्त उपयोगी बनेको छ ।

व्यावसायिक बाख्रापालनका लागि पछिल्लो समयमा जग्गा भाडामा लिएर बाख्रापालन व्यवसायका लागि आउनेहरुको चाप पनि दिनप्रतिदिन बढिरहेको स्थानीयवासी बताउँछन् ।

श्रेष्ठका अनुसार विगतका समयमा स्थानीय जातका मात्र बाख्राहरु पालिने गरेकामा विगत केही समययता स्थानीयका साथै अन्य विभिन्न उन्नत जातका बाख्राहरु पनि पाल्न थालिएको छ ।

लगानीअनुसार राम्रो प्रतिफल प्राप्त हुने गरेको र दिनदिनै बढ्दै गएको मागको क्रमले बाख्रापालनतर्फ निकै आकर्षण बढेको अर्का कृषक दिनेश बलामीको भनाइ छ ।

स्थानीय रुपमा उत्पादित बोका–पाठानजिकै रहेको दक्षिणकाली मन्दिरमा पूजाका लागि बिक्री हुने गरेको र काठमाण्डुका साथै मकवानपुरको हेटौँडासम्म पनि यस ठाउँबाट बोका–पाठाहरु निर्यात हुने गरेको उनले बताए ।

सामान्य रुपमा ८१० वटा बाख्रा पालेर पनि घरको दैनिक खर्च चलाउन सजिलो हुने भएका कारण पनि कृषकको रोजाइमा बाख्रापालन पर्दै गएको र यसले बिस्तारै व्यावसायिक रुप लिन थालेको बलामीको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us