नुवाकोटमा पशु बीमा लागू हुने

काठमाण्डु टुडे २०७० माघ २८ गते १:०८ मा प्रकाशित

cooperatives-cowsनुवाकोट, २८ माघ – पशुपालक कृषकले पशुबीमाको आवाज उठाएको लामो समयपछि जिल्लामा पशु बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले २०६९ साल माघमा नै पशु बीमाको कार्यक्रम अघि बढाए पनि नुवाकोटका यो वर्षदेखि पशु बीमा कार्यक्रम लागू हुने तयारी भएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. गौरीमान श्रेष्ठले बताए ।

जिल्लाका व्यावसायिक कृषकलाई जोखिम न्यूनीकरण गर्नका लागि सरकारले बीमा प्रिमियममा ५० प्रतिशत अनुदानसमेत दिने उनले बताए । आर्थिक वर्ष २०७०/७१ देखि सरकारले बाली तथा पशु बीमा निर्देशिका नै बनाएकाले सोही निर्देशकअनुसार पशुको बीमाको काम थालिने उनले जानकारी दिए ।

नुवाकोटमा पशु बीमा सञ्चालनका लागि १७ वटा कम्पनीले चासो दिएको पशुसेवा कार्यालयका प्रमुख डा श्रेष्ठले बताए । कृषकमाझ व्यापक प्रचारप्रसार गर्नसके पशु बीमा लोकप्रिय हुने उनको भनाई छ ।

जिल्लामा व्यावसायिक रुपमा काम गर्दै गाईपालन, बाख्रापालन, कुुखुरापालन र बङ्गुरपालन सञ्चालन गर्दै आएका किसानका लागि बीमा कार्यक्रम लोकप्रिय हुने उनले विश्वास व्यक्त गरे ।

जिल्ला पशुसेवा कार्यालयले पशुबीमालाई प्रचारप्रसार गर्न पशु बीमा प्रचारप्रसार गोष्ठीसमेत सञ्चालन गरिसकेको छ । गोष्ठीमा मध्यमाञ्चल पशुसेवा निर्देशनालयका क्षेत्रीय निर्देशक डा दामोदर सेढाईंले पशु बीमाले किसानमा पशुपालनमा उत्साह थप्ने उनले बताए ।

जिल्लाका पुराना कुखुरापालक तथा ह्याचरी सञ्चालक सिंहनारायण चित्रकार बीमा कार्यक्रम लागू भएपछि पशुपालनमा मानिसको आकर्षण बढ्ने र व्यावसायिकताको पनि विकास हुने बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us