खाद्य संस्थानले चामलको मूल्य घटायो

काठमाण्डु टुडे २०७० माघ २७ गते ११:२३ मा प्रकाशित

सोलुखुम्बु, २७ माघ– सरकारले सहुलियतमा दिएको चामलको मूल्य बजार मूल्यभन्दा कति सस्तो होला ? धेरैको अनुमान हुन्छ केजीमा आठ÷१० सस्तो हुन्छ तर सोलुखुम्बुमा त्यसको विपरीत छ ।

नेपाल खाद्य संस्थानले सहुलियतमा वितरण गर्ने चामल बजार मूल्यभन्दा महँगो भएपछि बाध्य भएर मूल्य घटाएको छ तर मूल्य घटाउँदा पनि बजार मूल्यभन्दा कम हुन सकेको छैन ।

खाद्य संस्थान सल्लेरी डिपोले प्रतिकेजी ४२ का दरले बिक्री वितरण गर्दैआएको सोना मन्सुली चामलको मूल्य सदरमुकाम सल्लेरीको बजारमा ४० प्रतिकेजीका दरले बिक्री वितरण गर्न थालेपछि खाद्य संस्थानले पनि मूल्य घटाएर प्रतिकेजी ४० पु¥याएको छ । अब सरकारले सहुलियतमा दिएको चामल र खाद्य संस्थानको चामलको मूल्य बराबरी भएको छ । बजारमा सोही मूल्यमा पाउँदा खाद्य संस्थानको चामल बिक्री नहुने समस्या बढेको छ ।

यस्तै खाद्य संस्थानले अमेरिकी सोना मन्सुली चामल प्रतिकेजी ४२ मा बिक्री गरिरहेको छ । अमेरिकी सोना मन्सुली चामल केही राम्रो भएकाले त्यसको बिक्री सन्तोषजनक रहेको खाद्य संस्थान सोलुखुम्बुका प्रमुख गङ्गाप्रसाद शाहले जानकारी दिए ।

शाहका अनुसार सुनकोसीमा बेलिब्रिज सञ्चालनमा ल्याएपछि सल्लेरीका व्यापारीले चामलको मूल्य घटाएका भए पनि खाद्य संस्थानको चामल ढुवानीका लागि गत साउनमै ठेकेदारलाई टेन्डर दिइसकिएकाले मूल्य घटाउन सकिएको हो ।

मूल्य समायोजनको काम केन्द्रबाट नै हुने भएकाले जिल्लामा बजार मूल्यभन्दा चामल महँगो भएको हो । गत वर्ष पनि चामल बिक्री भएको थिएन भने सुनकोसीको बेलिब्रिज बन्द हुनाको साथै वर्षात्का कारण बाटो अवरुद्ध भएपछि संस्थानको चामल बिक्री भएको थियो । यस वर्ष पनि यसबेला बिक्री नभएमा जेठ महिनापछि बिक्री हुने संस्थानको अपेक्षा रहेको छ ।

चालु आवका लागि संस्थानले सोलुखुम्बुमा दुई हजार १०० क्विन्टल चामल ढुवानी गर्ने जनाएको छ । अञ्चल कार्यालय लहानबाट छुटिएको दुई हजार १०० क्विन्टल चामलमध्ये हालसम्म ७३० क्विन्टल चामल जिल्लामा प्राप्त भइसकेको र बाँकी ढुवानीका क्रममा रहेको खाद्य संस्थान सल्लेरीले जनाएको छ ।

यसमध्ये ३०३ क्विन्टल ५० केजी चामल लुक्ला डिपोमा पठाइसकिएको कार्यालयको तथ्याङ्क छ । लुक्ला डिपोमार्फत, खुम्जुङ, नाम्चे, चौरीखर्क र जुभिङका नागरिकले चामल पाउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us