स्वाइन फ्लूबाट ३८ को मृत्यु भएको पुष्टि

काठमाण्डु टुडे २०७० माघ २६ गते ११:२० मा प्रकाशित

कायरो, २६ माघ– इजिप्टमा स्वाइन फ्लूबाट कम्तीमा पनि ३८ जनाको ज्यान गएको पुष्टि भएको छ । स्वाइन फ्लूको एच१ एन१किटाणुबाट उक्त निधन भएको पाइएको इजिप्ट सरकारले पुष्टि गरेको छ ।

गत डिसेम्बर देखि हालसम्ममा उक्त संक्रमणका कारण ३८ जनाको ज्यान गएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

इजिप्टको स्वास्थ्य मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको समाचारमा उल्लेख छ । गएको डिसेम्बर महिना यतामात्र यतिधेरैको ज्यान गएकोले त्यहाँ अझै संक्रमणको खतरा रहेको बताइएको छ ।

उक्त मन्त्रालयका अनुसार इजिप्टमा सो संक्रमणको प्रकोप रहेको भनी गरिएको परीक्षणमा ३३९ वटा विरामी भेटिएका थिए । ती विरामीमध्ये ३८ जनाको ज्यान गएको सो मन्त्रालयले जनाएको छ ।

सो संक्रमणका कारण त्यहाँ निकै ठूलो त्रास फैलिएको बताइएको छ । नागरिकमा बृद्धि भएको सो त्रासका कारण मन्त्रालयले हप्तामा दुई पटकसम्म स्वास्थ्य बुलेटिन प्रकाशन गरी जानकारी दिने गरेको पनि सो समाचारमा जनाइएको छ ।

ती संक्रमितमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुलाई विशेष निगरानीमा राखेर उपचार गरिएको बताइएको छ ।

सन् २०१० मा नै विश्व स्वास्थ्य संगठनले यो संक्रमणको परिचय गराएको यियो । इजिप्टमा सन् २०११ देखि नै यो संक्रमण सुरु भएको बताइएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us