
बाँके, २६ माघ– मध्यपश्चिमाञ्चलका विभिन्न पहाडी जिल्लामा ढुवानीका लागि जापानी चामल नेपालगन्ज आइपुगेको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जका अनुसार विरगन्ज नाका हँुदै करिब १० हजार क्विन्टल चामल हाल नेपालगन्ज पुग्दैछ ।
संस्थानको गोदाममा अहिले धमाधम चामल भण्डारणको कार्य भइरहेको छ । आपत्कालीन समयमा आपूर्तिका लागि विरगन्ज र विराटनगरसँगै नेपालगन्जमा पनि करिब ५० हजार क्विन्टल चामल गोदाममा भण्डारण भइरहन्छ ।
यसपटक भने संस्थानको गोदाममा हाल १० हजार क्विन्टल धान र छ हजार क्विन्टल चामल भण्डारण गरिएको छ । अन्य चामलभन्दा जापानी चामल राम्रो मानिन्छ । जापानी चामल हेर्दा आकर्षक भएको जनाइएको छ ।
जापानी चामल हेर्दा धेरै मोटो देखिए पनि स्वादिष्ट हुने गरेको बताइन्छ । संस्थानको नेपालगन्जमा तीनवटा आफ्नै गोदाम रहेका छन् । करिब दुई वर्ष पुरानो चामल समेत भण्डारण गर्नुपर्ने भएका कारण संस्थानले बेलाबेलामा केन्द्रको अनुमतिमा चामल रङ्गाउने गरेको जनाएको छ ।
केन्द्रको अनुमतिमा चामल रङ्गाउने काम हुने अञ्चल कार्यालयले जनाएको छ । समयसमयमा संस्थानको विज्ञसहितको टोलीले चामल भण्डारण गरिएको गोदामको स्थलगत अनुगमन गरी परीक्षण गर्ने भएका कारण चामल गोदाममा सड्न नपाउने संस्थानको दाबी छ ।
जापान सरकारले अनुदानमा उपलब्ध गराएको चामल कर्णालीसँगै भेरी अञ्चलका पहाडी जिल्लामा पनि वितरण हुन्छ ।
नेपालगन्जमा यसपटक करिब दुई वर्षपछि जापानी चामल आइपुगेको हो । संस्थानका अनुसार पहाडी जिल्लामा हाल चामल ढुवानी कार्य भइरहेको छ तर हिमाली जिल्लामा हिमपातका कारण चामल बीचबाटोमै रोकिएको संस्थानले जनाएको छ । रासस