प्रधानमन्त्रीमा उम्मेदवारी दिने आज अन्तिम दिन

काठमाण्डु टुडे २०७० माघ २६ गते १:१४ मा प्रकाशित

काठमाण्डु, २६ माघ– नयाँ प्रधानमन्त्री चयनका लागि मनोनयन  दर्ता गराउन संसद सचिवायले तोकेको समयसीमा आज सकिंदैछ ।
सचिवालयले शनिबार बिहान १० देखि तोकेको समयसीमा आज साँझ ५ बजे सकिनेछ  ।

उम्मेदवारीमाथि दाबी विरोधको प्रक्रिया पुरा गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

उम्मेदवारी दर्ताको पहिलो दिन हिजो एक जनाको पनि उम्मेदवारी परेको थिएन । यद्यपि काँग्रेस र एमालेका प्रतिनिधिले संसद सचिवालयबाट उम्मेदवारी फर्म बुझेर लगेका थिए ।

प्रधानमन्त्रीको दौडमा एक्लै रहेको काँग्रेस एमालेले समेत उम्मेदवारी फर्म लगेपछि शसंकित बनेको छ । एमालेले राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष र Biccउपाध्यक्षको निर्वाचन तथा शक्ति बाँडफाँटमा प्याकेज सहमति भए मात्र सरकार गठनमा काँग्रेसलाई सघाउन सकिने बताउँदै आएको छ ।

एकीकृत माओवादी, राप्रपा नेपाल र फोरम नेपाललगायत दलले सरकारमा सहभागी नहुने बताइसकेकाले बहुमतीय सरकार बनाउन एमालेलाई मनाउनै पर्ने बाध्यतामा काँग्रेस छ ।
दलहरुबीच सहमतिय सरकार गठनमा कुरा नमिलेपछि राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा–३८ (२) अनुसार बहुमतीय प्रधानमन्त्री चयन गर्न आग्रह गरेका हुन् । व्यवस्थापिका–संसदमा बहुमतीय प्रधानमन्त्री चयनका लागि सोमबार मतदान हुने कार्यतालिका छ ।

यसैबीच सहमति प्रयासका लागि काँग्रेस–एमाले शीर्ष नेतृत्वबीच आज अन्तिम छलफल हुँदैछ । सहमतिका लागि अन्तिम प्रयास गर्ने दुवै दलका नेताले बताएका छन् ।

सहमति नभए प्रधानमन्त्री निर्वाचन प्रक्रिया पछि सार्न संसदको कार्यव्यवस्था परामर्श समितिलाई आग्रह गर्नेबारे समेत दुई दलबीच अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us