वैदेशिक रोजगार ऐन संशोधन हुने

काठमाण्डु टुडे २०७० माघ २४ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, २४ माघ– श्रम तथा रोजगार सचिव सुरेशमान श्रेष्ठले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागिएको बताएका छन् ।

राष्ट्रिय महिला आयोगले गरेको अन्तक्र्रियामा श्रेष्ठले व्यवसायमा देखिएका चुनौती न्यूनीकरण गर्न तथा कामदारलाई व्यवस्थित र सहजरुपमा सम्बन्धित काममा जाने वातवरण सिर्जना गर्न नयाँ ऐन ल्याउने तयारी भएको जानकारी दिए ।

सचिव श्रेष्ठले करिब ३० लाख कामदार विभागमा दर्ता भएर वैदेशिक रोजगारमा गएको र त्यसको छ प्रतिशत महिला रहेको जानकारी दिँदै कामदारलाई व्यावसायिक बनाउन विभिन्न सीपमूलक तालिम उपलब्ध गराएर मात्र बाहिर पठाउने व्यवस्था गर्न लागिएको बताए ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङ, आशा फाउन्डेसनका अध्यक्ष आशा लामा र पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले विदेशमा काम गर्न जाने कामदारमा विशेषगरी घरेलु कामदारमा गएका महिला असुरक्षित रहेको भन्दै सरकारले इजाजत नदिएका मुलुकमा पनि भारतको बाटो हुँदै उनीहरू जाने गरेकाले खुला सिमानालाई बन्द गर्नुपर्नेमा जोड दिए ।

आयोगकी अध्यक्ष शेष चाँदताराले वैदेशिक रोजगारमा गएका नेपाली महिलाको सङ्ख्या तथा उनीहरूको अवस्था के कस्तो छ भन्नेबारे अनुसन्धान गर्नुपर्ने माग गरिन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us