
चितवन, २४ माघ– दूधको मूल्य बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय चितवन पुगेका दूग्ध किसानमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।
प्रहरीको लाठी लागेर चार किसान घाइते भएका छन् । प्रहरीको लाठीबाट घाइते हुनेमा नारायणप्रसाद चापागाईं, कृष्णप्रसाद सोडारी, किशोर पौडेल र नाम नखुलेका अर्का एक जना छन् ।
घाइते सबैको अनुहार र हातमा गहिरो चोट लागेको छ । भरतपुरको चौबिसकोठीबाट र्यालीसहित ज्ञापनपत्र बुझाउन गएका किसानहरुमाथि जिल्ला प्रशासन कार्यालय परिसरमा पुग्ने बित्तिकै लाठीचार्ज भएको थियो ।
शान्तिपूर्ण रुपमा ज्ञापनपत्र बुझाउन गएका बेला आक्रमण गरिएको भन्दै दूग्ध किसान आक्रोशित बनेका छन् । जिल्ला दूग्ध उत्पादक सहकारी संघको अगुवाइमा मूल्य बढाउनुपर्ने माग गर्दै किसानहरु आन्दोलित भएका हुन् ।