डढुवा रोग मुख्य समस्या

काठमाण्डु टुडे २०७० माघ २४ गते ४:१९ मा प्रकाशित

480X320_79a8f401e4044190b5c1373a08e60af6धनगढी, २४ माघ – हिउँदे याममा गरिने आलु, गोलभेंडा र तोरी लगायतका बालीहरुमा देखिने डढुवा रोग कैलाली लगायतका तराईका जिल्लामा प्रमुख समस्याका रुपमा देखिन थालेको छ ।

योसँगै यी बालीहरुको उत्पादनमा समेत ह्रास आउन थालेको कृषकहरुले बताएका छन् । पछिल्ला केही वर्षदेखि व्यावसायिकरुपमा तरकारी खेती गर्नेतर्फ कृषकहरु आकर्षित भैरहे पनि बर्सेनि देखापर्ने डढुवा रोगको प्रकोपका कारण कृषकहरु समस्यामा पर्ने गरेको स्थानीय कृषक सन्तोष भट्टले बताए ।

‘चार कठ्ठामा ठूलो लगानी गरेर आलुखेती गरियो, डढुवा रोगको प्रकोपले लगानी पनि उठ्न सकेन । सबै बाली सखाप भयो,’ कञ्चनपुर कृष्णपुरका कृषक भट्टले भने । दुई दशक अघिसम्म यी बालीहरुमा यो रोग प्रकोपको रुपमा देखिने गरेको थिएन । तर केही वर्षयता हरेक हिउँदमा यो रोग ठूलो समस्याका रुपमा देखिएको अगुवा कृषकहरु बताउँछन् ।

जलवायु परिवर्तनको असरसँगै हिउँदे याममा लामो समयसम्म आकासमा बाक्लो हुस्सु एवं कुहिरो लाग्ने र शीतलहरसँगै लामो समयसम्म चिसो बढिरहने भएका कारण डढुवा रोग प्रकोपको रुपमा देखिन थालेको जिल्ला कृषि विकास कार्यालय कैलालीका अधिकृत जीतबहादुर थापाको भनाई छ ।

डढुवा रोगका कारण आलु र गोलभेंडाको बोटका पात सुरुका दिनमा सुकेर कालो हुने र बिस्तारै डाँठ र फलमा समेत रोगको सङ्क्रमण हुने गर्दछ र बाली नै नष्ट हुने गर्दछ ।

रोगले हरियो साग र तोरीबालीमा समेत प्रतिकूल असर पुर्याउने गरेको थापा बताउँछन् । यद्यपि नियमितरुपमा ढुसी नासक विषादी छर्किने कृषकहरुका बालीमा भने यो रोगको समस्या त्यति देखिने गरेको छैन ।

रोगबाट बालीलाई बचाउन ढुसीनासक विषादी सात—सात दिनको फरकमा छर्किनु पर्ने सल्लाह कृषि प्राविधिकहरुले दिने गरेकोमा औषधि महङ्गो हुने मात्र नभई आवश्यक प्राविधिक ज्ञानसमेत नहुने गरेकाले कृषकहरुले बालीलाई रोगको सङ्क्रमणबाट बचाउन नसकेको देखिन्छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशी उन्नत जातका बीउ प्रयोग नगरी भारतीय बजार क्षेत्रबाट आयात गरिने सस्ता बीउको प्रयोग बढेकाले पनि आलु, गोलभेंडा लगायतका बालीमा डढुवा रोगको समस्या बढ्न थालेको बताउँछन् । ‘शुद्ध र उन्नत बीउको प्रयोग गर्नुपर्छ, वर्ष वर्षै खेती गरिने जग्गा पनि बदल्न सकेमा यस्तो समस्या त्यति नहुन सक्छ,’ जोशीले भने ।

कैलालीमा झण्डै ६ हजार हेक्टरमा आलु, २० हजार हेक्टरमा तोरी र केही हेक्टर जग्गामा गोलभेंडा खेती हुने गरेको छ । जिल्लामा उत्पादन हुने तरकारीको परिमाणले छ सात महिनासम्म जिल्लाको मागलाई पूरा गर्ने गरेकामा जेठदेखि असोजसम्म जिल्ला बाहिर र भारतबाट तरकारी आयात हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us