आयातित मह स्वास्थ्यका लागि हानीकारक

काठमाण्डु टुडे २०७० माघ २४ गते ३:३४ मा प्रकाशित

इटहरी, २४ माघ – नेपाल मौरीपालक महासंघले भारत र अन्य देशबाट नेपाल आयात हुँदै आएको मह मानव स्वास्थ्यका लागि उपयुक्त नभएको दाबी गर्दै नेपाल सरकारले त्यसलाई प्रमाणित गर्नुपर्ने माग अघि सारेको छ ।

महासंघद्वारा शुक्रबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा नेपालका मौरीपालक किसानलाई राज्यले कुनै पनि सुविधा र सहुलियत नदिएका कारण नेपालका मौरीपालक किसानहरु अन्याय र अन्यौलमा परिरहेको जानकारी दिइएको छ ।

साथै, निर्वाधरुपमा भारत र अन्य देशबाट गुणस्तरहीन मह आयातको छुट दिनुले नेपाली मौरीपालक किसानहरु अझ मर्कामा परिरहेको महासङ्घ सुनसरी अध्यक्ष बासु ढकालले बताए ।

नेपालमा चिउरीबाट वार्षिक दशौँ हजार मेट्रिक टन मह उत्पादन गर्न सकिने सम्भावना रहे पनि त्यससम्बन्धी ठोस नीति बनाउनेतर्फ सरकार उदासीन रहेको श्री ढकालले गुनासो गरे ।

नेपाली किसानले मेलिफेरा जातको मौरीबाट ७०० मेट्रिक टन र सेराना (स्थानीय जात) बाट झण्डै एकहजार ६०० मेट्रिक टन मह उत्पादन गर्दै आएका छन् ।  महासंघले नेपाल बाहेक अन्य देशबाट आयात हुने महमा सल्फर प्रयोग गरिएको हुने र त्यो मानव स्वास्थ्यका लागि हानिकारक रहेको जनाएको छ ।

नेपालमा तोरी, फापर, धनियाँ, गुम्पाते झार, चिउरी, असारे, फड्के सिसौ, दुधिलो, क्यामुनी, साज लगायतका वनस्पतिबाट मह उत्पादन गर्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us