हावाबाट जेनेरेटर सञ्चालन !

काठमाण्डु टुडे २०७० माघ २१ गते ११:२१ मा प्रकाशित

चितवन – विद्युत् सुविधा नपुगेको चितवनको पहाडीक्षेत्रमा हावाको माध्यमबाट जेनेरेटर सञ्चालन गरी नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ ।

काउले गाउँ विकास समितिको पनाय डाँडामा हावाबाट जेनेरेटर सञ्चालन गरी मोबाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकम भरतपुरका प्रवक्ता चिरञ्जीवी घिमिरेले बताए ।

चितवनको पहाडी क्षेत्रमा अनवरत रुपमा हावा प्रवाह हुने गर्दछ । सो क्षेत्र समुद्री सतहबाट सात हजार फिट उचाइमा पर्दछ । हावाबाट चल्ने सो जेनेरेटरले १५ एम्पिएर विद्युत् उत्पादन भएको प्रवक्ता घिमिरेले बताए ।

यसअघि सो क्षेत्रमा सोलारबाट मोबाइल टावर सञ्चालन गर्दै आइएकोमा त्यसले राम्रो काम नगरेपछि पहिलोपटक यो पद्धति सुरु गरिएको हो । यसअघि नेपाल टेलिकमले देशका ११ स्थानमा हावाको माध्यमबाट जेनेरेटर सञ्चालन गरी मोबाइल सेवा सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

सो स्थानमा टावर सञ्चालनपछि चितवनको पहाडी गाविस लोथर, शक्तिखोर र काउलेका सेवाग्राही लाभान्वित भएको नेपाल टेलिकम भरतपुरले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us