चौपाया चोरेको आरोपमा जिउँदै जलाइयो

काठमाण्डु टुडे २०७० माघ २० गते ११:०३ मा प्रकाशित

कोलकाता, २० माघ – चौपाया चोरेको आरोपमा पश्चिम बङ्गालमा चार जनालाई जिउँदै जलाइएको छ । ती चारजनाको शवको प्रकृति हेर्दा उनीहरुलाई जिउँदै जलाइएको पाइएको प्रहरीले जनाएको छ ।

पश्चिम बङ्गालको एक गाउँमा ती व्यक्तिको शव भेटिएको समाचारमा जनाइएको छ । उनीहरुलाई आइतबार साँझ त्यसरी हत्या गरिएको हो । सो हत्या काण्डमा संलग्न व्यक्तिहरुको खोजीकार्यलाई प्रहरीले व्यापक बनाएको छ । पश्चिम बङ्गालमा रहेको बङ्गलादेशसँग जोडिएको गाउँमा ती व्यक्ति मारिएका हुन् ।

मारिएकामध्ये दुइको शव भ्यानमा भेटिएको थियो भने अरु दुईको नजिकैको बाटोमा पाइएको थियो । सो भ्यानमा चोरेर ल्याएको हुनसक्ने एउटा गाई पनि भेटिएको छ । गाई पनि जलेको अवस्थामा पाइएको छ ।

सो गाउँका प्रहरी अधिकारी जगमोहनले भने– ती शवका टाउको र शरीरका केही भागमा चोट पटक लागेको अवस्थामा पाइएको छ । त्यसैले उनीहरुलाई आगोमा जलाउनुअघि पिटिएको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त घटना पशु तस्करहरुका बीचमा भएको हुनसक्ने अनुमान पनि गरिएको जगमोहनको भनाई छ । उनले भने– सो घटनाको प्रकृति हेर्दा पशुको तस्करी गर्ने दुई समूहका बीचमा सो भिडन्त भएको पनि हुनसक्छ ।

पश्चिम बङ्गाल राज्यको राजधानी कोलकत्ताबाट करिब ६२० किलोमिटर टाढा रहेको सो गाउँको नाम बलराम जोति गाउँ रहेको छ । सो गाउँमा यस्तो प्रकृतिको घटना यो पहिलो पटक भएको प्रहरीले जनाएको छ ।

पशुको तस्करी गरी भारतबाट बङ्गलादेशतर्फ लैजाने क्रम यस क्षेत्रमा निकै पहिलादेखि नै हुने गरेको हो । यो घटना पनि त्यस्तै प्रकृतिको भएको बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us