असहाय बालबालिकाको सहयोगार्थ सगरमाथा आरोहण गर्दै

काठमाण्डु टुडे २०७० माघ २० गते १०:३३ मा प्रकाशित

Everest_kalapatthar_cropकाठमाण्डु, २० माघ – अनाथ टुहुरा र असहाय बालबालिकालाई शिक्षा दिन र तिनको हेरचाहका लागि आर्थिक स्रोत जुटाउन सोलुखुम्बुका कामे मगर सगरमाथा आरोहणको तयारीमा जुटेका छन् ।

आफैंरक्त क्यान्सरबाट पीडित भई हाल स्वस्थ रहेका मगरले असहाय बालबालिकाको अवस्थाप्रति समाज र राष्ट्रको ध्यान आकृष्ट गर्न सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका हुन् ।

पदयात्रीको भरियाका रूपमा मेची–महाकालीसम्मको यात्राको क्रममा असहाय बालबालिकाको अवस्थाबाट भावविह्वल हुनुभएका उहाँले आफूले जोरपाटीमा स्थापना गरेको सोलु बालकल्याण अनाथालय संस्थामा त्यस्ता बालबालिकालाई आश्रय दिँदै आएको आज काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।

केही संघसंस्थाले सहयोग दिने वचन दिएकाले हौसिएका मगरले सहयोगस्वरूप सङ्कलित रकम सोही संस्थालाई अन्तर्राष्ट्रिय मापदण्डको बालगृहका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए ।

सगरमाथा आरोहणका क्रममा लाग्ने ४८ लाख राजस्व मिनाहा गरिदिन पनि उनले सरकारसँग आग्रह गरेका छन् । मगर आगामी फागुन २३ गते काठमाण्डुबाट पैदल प्रस्थान गर्ने र आगामी वैशाखको अन्त्यतिर सगरमाथा आरोहण गरी पैदलै फर्किने तयारीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us