काँग्रेस पहलमा आज पनि सर्वदलीय बैठक

काठमाण्डु टुडे २०७० माघ १९ गते २:२८ मा प्रकाशित

काठमाण्डु, १९ माघ– नेपाली काँग्रेसले सहमतीय सरकार गठनको अन्तिम प्रयासस्वरुप आज पनि सर्वदलीय बैठक बोलाएको छ ।
NC-Flagराष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय सकिनै लाग्दा काँग्रेसले तेस्रोपटक सर्वदलीय बैठक आह्वान गरेको हो ।

राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८( १ ) अनुसार सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आजै सकिंदै छ । संविधानसभाको पहिलो ठूलो दल काँग्रेसले सहमतिय सरकारको प्रधानमन्त्रीमा सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई अघि सारेको छ ।

यद्यपि कोइरालाको नेतृत्वमा सहमतिय सरकार बन्ने सम्भावना कमजोर बन्दै गएको छ । यसअघि हिजोको बैठकमा पनि एकीकृत माओवादी, राप्रपा नेपाल र फोरम नेपालले आफ्नो दल सरकारमा नजाने अडान दोहोर्‍याएका कारण सहमतिय सरकार बन्ने सम्भावना कमजोर भएको हो ।

बैठकमा आज पनि संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका प्रमुख नेता र दुई स्वतन्त्र सभासदलाई बोलाइएको काँग्रेस प्रवक्ता दिलेन्द्रपसाद बडूले काठमाण्डु टुडेलाई जानकारी दिए ।

बडुले आज पनि दलहरुबीच सहमति जुट्न नसके बहुमतीय प्रक्रियामार्फत आफ्ना सभापति कोइरालाको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाउने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us