बसमा आगो लाग्दा ८ को मृत्यु

काठमाण्डु टुडे २०७० माघ १५ गते ९:३५ मा प्रकाशित

नयाँ दिल्ली, १५ माघ– पश्चिम भारतीय राज्य माहाराष्ट्रमा एक सुविधा सम्पन्न बसमा बुधबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । माहाराष्ट्रको कुडे गाउँमा स्थानीय समयअनुसार बिहान करिब २ बजे सो घटना भएको जनाइएको छ ।

विपरित दिशाबाट आइरहेको एक डिजेलको टयाङ्करसँग सो सुविधा सम्पन्न यात्रुबाहक बस ठोकिँदा बसमा आगलागी भएको हो । यस दुर्घटनामा अन्य १४ जना घाइते भएको पनि जनाइएको छ । घाइतेहरूलाई उपचारार्थ नजिकैको अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्ने समेत प्रहरी स्रोतले अनुमान गरेको छ । स्थानीय टेलिभिजन च्यानलका अनुसार सो बस पुणे सहरबाट अहमेदाबादतर्फ गइरहेको जनाइएको छ ।

भारतमा बसमा आगलागीको घटना असाधारण नभएको जनाइएको छ । गत वर्षको नोभेम्बर महिनामा पनि भारतीय दक्षिण राज्य कर्नाटकमा भएको यस्तै घटनामा सात व्यक्तिको  मृत्यु भएको थियो ।

सोही राज्यमा मे महिनामा भएको यस्तै घटनामा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० घाइते भएका थिए । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us