अविवाहितले गराउँछन् असुरक्षित गर्भपतन

काठमाण्डु टुडे २०७० माघ १३ गते ३:४९ मा प्रकाशित
काठमाण्डु, माघ १३-अविवाहित युवतीले असुरक्षित गर्भपतन गराउने प्रवृत्ति बढ्दै गएको छ। विवाहपूर्वको यौनसम्पर्कबाट बसेको गर्भपतन गराउँदा सामाजिक बेइज्जति हुने डरले ग्रामीण भेगका युवती स्थानीय औषधि पसलमा गएर गर्भपतन गराउँछन्।

विवाहित महिलाभन्दा अविवाहित युवती लुकेर मेडिकलमा गर्भपतन गराउने औषधि किनेर लैजाने गरेको मेडिकल सञ्चालक बताउँछन्।

बझाङ चैनपुरका मेडिकल सञ्चालकले भने, ‘हामी सुरक्षित गर्भपतन गराउन जिल्ला अस्पताल जान सल्लाह दिन्छौं। विवाहित महिला अस्पताल जान्छन् तर अविवाहित युवती अस्पताल नगएर औषधि किनेर लैजान्छन्।’ गर्भपतनलाई सरकारले एक दशकअघि वैधानिकता दिएको भए पनि दुर्गम क्षेत्रका युवती अझै पनि यसका विषयमा जानकार नभएको चैनपुरका स्वास्थ्य व्यवसायी बताउँछन्।

सुरक्षित यौनसम्पर्कप्रति जनचेतनाको कमी भएका कारण गर्भपतन गराउने अविवाहित युवतीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ। स्कुल र कलेज पढ्ने २० वर्षमुनिका युवती असुरक्षित गर्भपतन गराउनेमा अगाडि रहेका छन्। जिल्ला अस्पताल बझाङकी स्टाप नर्स उमा केसीका अनुसार अविवाहितले गर्भपतन गराउनुलाई अझै पनि समाजले नपचाउने भएकाले उनीहरू गर्भपतन गराउन अस्पताल नआउने गरेको बताउँछिन्।

उनले भनिन्, ‘कलेज पढ्ने युवतीलाई सुरक्षित गर्भपतनका बारेमा थाहा भएर पनि सामाजिक बेइज्जतीको डरले ज्यान जोखिममा राखेर पसलबाट औषधि किनेर गर्भपतन गराउँछन्।’ यसरी असुरक्षित गर्भपतन गराउँदा युवतीमा बाँझोपन हुने, साल पाठेघरमा अड्किने, रगत बढी बगेर मृत्यु हुनेसम्मका समस्या आउने गरेको केसी बताउछिन्।

उनका अनुसार विवाहितले गर्भपतन गराउँदा कसैले औंला नउठाउने भएकाले उनीहरू सीधै जिल्ला अस्पताल आउँछन् तर अविवाहित आउनै डराउँछन्। केसीले भनिन्, ‘हामी अविवाहित युवतीको गर्भपतन गराउँदा नाम गोप्य राख्छौं। तर जिल्ला अस्पतालमा बढी स्टाप हुने भएकाले सार्वजनिक हुन्छ भन्ने डरले युवतीहरू अस्पतालमा आउँदैनन्।’

जिल्ला अस्पतालको तथ्यांकअनुसार वर्षमा ५० भन्दा बढी गर्भपतन गराउन अस्पताल आउने गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार यो संख्याभन्दा दोब्बर अविवाहित युवती लुकिछिपी औषधि खाएर असुरक्षित गर्भपतन गराउँछन्। उनीहरूको यकिन तथ्यांक भने छैन। – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us