आम आदमी पार्टीका विधायक निस्कासित

काठमाण्डु टुडे २०७० माघ १३ गते २:०० मा प्रकाशित

Binniकाठमाण्डु, १३ माघ–भारतमा आम आदमी पार्टीले आफ्नो एक विधायकलाई पार्टीबाट निश्कासित गरेको छ । पार्टीको छवी धमिल्याउने प्रयास गरेको आरोपमा पूर्वी दिल्लीबाट विजयी विनोद कुमार शर्मा विन्नीलाई पार्टीले आईतबार अबेर राति निस्कासित गरेको हो ।

भर्खरै भारतको राजधानी नयाँदिल्ली रहेको दिल्ली प्रदेशमा एक वर्ष अघि मात्र गठित आम आदमी पार्टीले अप्रत्यासित जीत हासिल गरि सरकार बनाएयता यो पार्टी भित्रको सबैभन्दा ठूलो गतिरोध हो ।

आम आदमी पार्टीमाथि अराजकता फैलाएको आरोप लागिरहेको बेला विन्नीले समेत आफू विधायक रहेको पार्टीले जनतालाई दिएको आश्वासन पुरा गर्न नसकेको आरोप लगाउँदै आएका थिए । पार्टीको सरकारमा आफूलाई समाबेश नगरिएकोमा असन्तुष्ट बनेका भनिएका विन्नीले आफ्नै पार्टी विरुद्ध प्रचारवाजी गर्दै आएका थिए । केहि दिन अघि पार्टी अध्यक्ष अरविन्द केजरीवाल नेतृत्वमा भएको धर्नाको समेत उनले विरोध गर्दै आएका थिए । पार्टीले आफ्नो असफलता ढाकछोप गर्न यस्तो धर्ना आयोजना गरेर जनतालाई भ्रमित पार्न खोजेको उनको आरोप थियो ।

आम आदमी पार्टीको सर्वोच्च राजनीतिक निकाय पोलेटिकल एफेयर्स कमिटि (पीएसी)ले पंकज गुप्ताको नेतृत्वमा अनुशासन समिति गठन गरि विन्नीमाथि छानविन गरेको थियो । पार्टीले विन्नीले आफ्नै पार्टी तथा नेताहरुमाथि लगाएको आरोप आधारहिन भएको जनाएको छ । सरकारको नीति विरुद्ध विन्नीले सोमबारदेखि जन्तरमन्तरमा धर्ना बस्ने जनाएपछि उनलाई बर्खास्त गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us