बीपी पुत्र भन्छन्, ‘अबको प्रधानमन्त्री सुशील नै हो’

काठमाण्डु टुडे २०७० माघ ११ गते १३:३९ मा प्रकाशित

shashanka-koiralaबीपी पुत्रसमेत रहेका काँग्रेस केन्द्रीय सदस्य शशांक कोइराला सभापति सुशील कोइरालाका विश्वासपात्र मानिन्छन् ।

पार्टी संस्थापकका छोरा र सभापतिका पारिवारिक सदस्यसमेत रहेका कोइराला आफू पारिवारिक राजनीतिबाट टाढै रहेको दाबी गर्छन् ।

यद्यपि उनी आफू राजनीतिमा आउनुमा पारिवारिक कारण पनि एक  रहेको स्वीकार्छन् । कोइराला बीपीको स्तरबाट सोच्ने नेतृत्व नभएका कारण  नेपाली राजनीतिक आकाशमा कालो बादल लागेको तर्क गर्छन् ।

चिकित्सा पेशा त्यागेर मूल धारको राजनीतिमा होमिएका कोइरालासँग काठमाण्डु टुडेले मुलुकको पछिल्लो राजनीतिक अवस्था, भावी सत्तासमीकरण र संविधान लेखनलगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश ।

संविधानसभाको पहिलो र दोस्रोपटकको जितमा के फरक पाउनुभयो ?

मेरो आफ्नो एउटा पक्ष छ, त्यो भन्दा पनि महत्वपूर्ण जनताको प्रश्नहरु अलि फरक पाएँ । पहिलो चुनावमा जाँदा जनताको प्रश्न अर्कै हुन्थ्यो, अहिले संविधानसँग नै केन्द्रित प्रश्न पाएँ ।

अहिले जनताहरु संविधानप्रति सचेत भइसकेको र संविधान कहिले बन्छ भन्ने चिन्ता पाएँ मैले । अहिले देश एकदमै गम्भीर अवस्थामा छ । अहिले पनि संविधान दिन सकेनौं भने त्यो देशका लागि दुर्भाग्यपूर्ण हुन्छ ।

पहिलो संविधानसभामा पनि तपाईंहरुले यस्तै कुरा गर्नु हुन्थ्यो तर, केवल जनताको अपेक्षामा तुषारापात भयो नी !

तपाईंले भनेको कुरा ठीक हो, तर, दुर्भाग्य भयो नै । हामीले महत्वपूर्ण समय गुमायौं । अब राजनीतिक कसरी जाने हो ? पुनः हामीले अर्कै विचार ल्याउने हो कि भन्ने समय पनि आउँन सक्छ । त्यसैले तपाईं कता जान चाहनुहुन्छ, दिशा स्पष्ट हुनुपर्‍यो ।

यसमा तपाईंको राजनीतिक दृढता कति छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । राजनीतिमा विचारको स्पष्टता र राजनीतिक दृढता एकदमै आवश्यक छ, जुनकुरा वीपी कोइरालामा थियो ।

हाम्रो राजनीति हाँक्नेहरुलाई नै देशलाई कता लैजाने भन्ने थाहा छैन, उनीहरु आफैं दिशाहीन छन्, तपाईंलाई त्यस्तो लाग्दैन ?

म आशावादी व्यक्ति हुँ । मलाई के लाग्छ भने यो ६ वर्षमा नेताहरुलाई एक किसिमको अनुभव भएको छ । अनुभवका लागि केही मूल्य चुकाउनु पर्‍यो । हामीले ६ वर्ष गुमायौं, फेरि पनि गुमाउनुपर्ने हो कि भन्ने चिन्ता पनि छ । अहिले राष्ट्रपति परिवर्तन गर्ने कि नगर्ने भन्ने विवाद भयो नि यसले राम्रो संकेत गर्दैन । ‘मर्निङ सो द डेज’ भन्छन् नि । त्यसैले हामी धेरै सतर्क हुनुपर्छ ।

संविधान भनेको ईश्वरले दिने होइन मानिसले बनाउने हो । भारतकै कुरा गरौं, स्वतन्त्रता संग्रामपछि सारा राष्ट्र एक भएको थियो त्यसैको सहयोगमा उनीहरुले ३ वर्षमा संविधान निर्माण गर्न सफल भए । साउथ अफ्रिकाको कुरा गर्दा त्यहाँ द्वन्द्वको बीचमा पनि संविधान आएको हो ।

त्यस्तै अमेरिकाको संविधान पनि द्वन्द्वको उपज हो । त्यहाँ ५५ जनाले ६ महिनामा नै संविधान बनाएर देखाइदिए । त्यसमा के फरक छ उनीहरुले दिनसक्ने हामीले नसक्ने ? त्यो संविधान अहिलेसम्म जिवित छ । हामीमा पनि त्यो दृढता र स्पष्टता हुनुपर्‍यो नि ।

नेपालको नागरिक राजनीतिमा संवैधानिक विकासको सुरुवात काँग्रेले गर्‍यो, स्वतन्त्रता, लोकतन्त्रको नाम जप्दै गर्दा काँग्रेसले त्यसभित्रका अराजकताप्रति सचेत भएन त्यसका कारण कैयन विकृति जारी रहे, त्यसको प्रभाव नेपाली समाजमा पनि पर्‍यो यसको नैतिक जिम्वेवारी तपाईंले लिने कि नलिने ?

लिनुपर्छ । नेपाली काँग्रेस एउटा ठूलो पार्टी त्यसको केन्द्रीय सदस्य र अहिले आएर संविधानसभा सदस्यको हैसियतले त्यसको जिम्वेवारी लिनैपर्छ ।

काँग्रेस पहिलो पार्टी भएर यी विकृतिहरुलाई न्यूनीकरण गर्न पहल गर्छ भन्ने कुरामा कसरी विश्वास गर्ने ?

हामी अत्यन्त गम्भीर मोडमा छौं । हामीसँग एकदमै कम समय छ । अब हामीले सही बाटो नमाएको खण्डमा नेपाली काँग्रेस पनि समाप्त हुन्छ । यो भावना हरेको पार्टीको युवा ‘जेनेरेसन’ मा छ । काँग्रेसले सभासद चयनमा ६०–४० को भागबण्डा गर्दै गर्दा केन्द्रीय समितिमा यो कुरा उठेकै हो ।

म आफूले पनि एकपटक होइन, पटकपटक गरेको हो । इतिहासमा यति राम्रो अवसर नेपालले सायदै पाएको छ । यस्तो अवस्थामा पनि मनै प्रधानमन्त्री, मेरै पार्टी भन्ने भन्दा यसको कसरी सदुपयोग गर्ने भन्नेतर्फ केन्द्रित हुनुपर्छ । काँग्रेसमा पनि अहिले सुशल कोइरालाले जस्तो अवसर पाउनुभएको छ, त्यो बीपीले पनि पाउनु भएको थिएन । २००७÷००८ मा बीपीले संविधानसभाको कुरा उठाउनु भएको हो तर, त्यो समयमा हुन सकेन ।

काँग्रेसलाई जनताले देश तिमी चलाउ भनेर जिम्मेवारी दिँदासमेत एउटा प्रधानमन्त्री चयन गर्नसमेत सकिरहेको छैन, यस्तो न्यून जिम्वेवारी पूरा गर्न नसक्ने पार्टीले संविधान निर्माण गर्ला भनेर कसरी विश्वास गर्ने ?

जनताले काँग्रेसलाई पहिलो र एमालेलाई दोस्रो ठूलो दलका रुपमा संविधान निर्माणको जिम्वेवारी दिएको छ । एकीकृत माओवादीलगायत अन्य दलहरु पनि छन्, तर विशेष गरी काँग्रेस–एमालेलाई बढी मत दिएका छन् ।

किनकी संघीयतामा जातीयतासहितको संघीयतामा जाने कि अन्य कुनै अधारमा अथवा कति संघ बनाउने भन्ने कुराहरुमा काँग्रेस–एमाले नजिक छन् । त्यसैले जनताले ल तिमीहरु संविधान बनाउ भनेर जिम्मेवारी दिएका हुन् । यस्तो अवस्थामा पनि अन्य कुरामा अल्झिने होइन । नेताहरुले जनताले म्यान्डेट दिएको कुरा बुझिदिनुपर्‍यो ।

तपाईंको पार्टीमा शीर्ष नेताहरुबीच कसले कुन पद लिनेभन्नेमा विवाद छ, एक किसिमको लेनदेनको कुरा आइरहेको छ, यस्तै लेनदेनका लागि जनताले पहिलो पार्टी बनाएको हो ?

प्रजातन्त्रमा विवाद हुन्छ, तर यो विवाद अहिले नहुनुपर्ने हो । लेनदेनको लागि जनताले काँग्रेलाई ठूलो पार्टी बनाएको होइन ।shashanka-koirala

अहिलेका शीर्ष नेताहरु पार्टी बनाउन चाहँदैनन्, आफू बन्न चाहन्छन् हो ?

त्यति त म भन्दिन । पार्टीलाई यहाँसम्म ल्याउन उहाँहरुको पनि ठूलो योगदान छ । जेलनेल भोग्नु भएको छ । सुशील कोइराला ६० वर्षदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ, उहाँको अभिष्ट देश बनोस् भन्ने नै हो । नत्र उहाँलाई के आवश्यकता छ ? विवाह पनि गर्नु भएको छैन, न परिवार छ । मात्र देशले संविधान पाओस्, देशको उन्नति होस् भन्ने उहाँको इच्छा हो । शेरबहादुरजीको पनि लगानी छ, रामचन्द्र पौडेलको पनि लगानी छ ।

 जनताले गरेको विश्वास पार्टीका मालिकहरुको लहडमा निर्भर हुने कुरा हो ?

होइन, होइन । म यहाँ एउटा कुरा जोड्न चाहन्छु, बीपी कोइराला किन सफल हुनुभयो ? उहाँले जनताको नाडी छाम्नु भएको थियो, जनताले के चाहेका छन् त्यो कुराको राम्रो ज्ञान उहाँलाई थियो । त्यसैले बीपीजस्तो मानिस अहिले भएन । त्यसले ठूलो क्षति नेपाली काँग्रेसलाई पनि भएको छ ।

 अब प्रधानमन्त्री को हुन्छ ?

मेरो विचारमा सुशील कोइराला । किनभने उहाँकै नेतृत्वमा पार्टी पहिलो ठूलो दल बनेको हो । फेरि उहाँ पार्टी सभापति पनि हुनुहुन्छ र संसद तथा केन्द्रीय समितिमा पनि उहाँको बहुमत छ । त्यसैले स्वभाविक हो कि सुशील कोइराला भावी प्रधानमन्त्री ।

राजनीति भनेको सम्झौता र स्वार्थको व्यवस्थापन पनि हो नि, सुशील कोइरालामा दुवै कुराको कमी भएकाले यो बहुरुपी संविधानसभाले बनाउने सरकारमा उहाँ लामो रेसको घोडा हुन सक्नुहुन्न भनिन्छ नि ?

तपाईंले भनेको कुरा ठीक हो । तर म यहाँ एउटा कुरा थप्न चाहन्छु । सुशील कोइराला प्रधानमन्त्री हुँदा सिंगो पार्टी उहाँको पछि हुनुप¥यो । मैले बारम्बार भन्ने गरेको छु शेरबहादुर र रामचन्द्रजीले पनि उहाँलाई सफल बनाउन सहयोग गर्नुपर्‍यो । उहाँको सफलतामा हाम्रो भविष्य छ, उहाँको सफलतामा पार्टीको पनि भविष्य छ र जनताको पनि भविष्य छ भन्ने कुरामा स्पष्ट हुनुपर्‍यो । त्यसका लागि उहाँले पार्टी र अन्य सहयात्री दलहरुको पनि विश्वास लिन सक्नुपर्छ ।

जारी केन्द्रीय समितिले सरकारमा नजाने प्रस्ताव पारित गरेको खण्डमा एमाओवादी प्रतिपक्षमा नै बस्ने लगभग पक्का छ, यस्तो अवस्थामा द्वन्द्वकालमा पनि माओवादीसँग काम गरेका शेरबहादुर उपयोगी होलान कि गिरिजाप्रसादको अवसान पछिमात्रै प्रचण्डसँग सहकार्य गरेका सुशील ?

हामीले संविधान निर्माण नगरुन्जेलसम्म भरसक प्रतिपक्ष नहोस् । जहाँसम्म संविधान रच्ने कुरा हो, त्यसमा हुने विवादलाई प्रतिपक्ष भनेर देखाउन भएन ।

यसो भन्दै गर्दा कतै तपाइंमा परिवारवादले केही प्रभाव पर्‍यो कि ?

म ‘फ्यामिली पोलिटिक्स’मा विश्वास गर्दिन ।

तपाईंलाई लाग्छ, अहिलेको तपाईको अस्तित्वमा तपाईंको पिताजी बीपी कोइरालाको कुनै देन छैन ?

डाक्टरको छोरा डाक्टर हुन्छ, किनभने उसले छोरालाई त्यो ‘स्किल’ सिकाइदिन्छ । जसका कारण उसलाई अलि धेरै फाइदा हुन्छ, त्यो स्वभाविक हो । तर म के भन्छु भने म बीपीको छोरा हुँ, यसैकारण मैलै राजनीति नै गर्नुपर्छ भन्ने मेरो अधिकार होइन ।

तपाईंले बीबीसी नेपाली सेवालाई दिएको एउटा अन्तर्वातामा राजतन्त्रबारे उठाएका केही कुरा निकै आलोचित भयो नि ?

मैले रवीन्द्र मिश्रजीसँग कुरा गर्दा मैले भनेको थिएँ, यदि तपाईं अघि बढ्ने हो भने संविधान दिनुस् । यदि दिन सक्नुभएन भने उनी राजा फेरि फर्कन सक्छन् । हामीले जनताको प्रतिनिधित्व गर्ने हो, त्यसैले जनताले के चाहन्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

मैले यहाँ जान्न खोजेको कुरा यतिमात्रै हो कि तपाईं राजासँगको पूरानो सम्बन्ध स्थापित गराउन चाहनुहुन्छ कि अरु केही विचारद्वारा निर्देशित थियो त्यो अभिव्यक्ति ?

अहिले हामी धेरै अघि बढिसक्यौं, बागमतिमा धेरै पानी बगिसकेको छ । त्यसैले राजा फेरि ल्याउनु आवश्यक म देख्दिन । तर, अहिले पनि हामी संविधान दिन सक्दैनौं, एक आपसमा बाझिरन्छौं भने जनताले भन्छन् नि यो बहुदलीय प्रजातन्त्र नै असफल भयो नेपालमा त्यसैले राजलाई ल्याऔं भनेर । यस्तो अवस्था आउनसक्छ नी ।

बीपीले भन्नुभएको थियो ‘प्रत्येक नेपालीको एउटा घर होस्, घरमा दुहुनो गाई होस्’ तर,  अहिलेका नेता भन्छन् ‘राजधानीमा एउटा बंगला होस्, कम्तिमा एउटा मर्सिडिज गाडी होस्’ यो छ नि परिस्थिति ?

अहिले पनि ७० देखि ७५ प्रतिशत नागरिक कृषि पेशामा निर्भर छन् । बीपी कोइरालाको समयमा कृषिमा ३० प्रतिशत बजेट थियो अहिले ३ प्रतिशत मात्रै छ । सुरक्षामा ३१ प्रतिशत बजेट छ, अझै बढ्दैछ । तर, यसबाट कुनै ‘रिटर्न’ आउँदैन ।

अहिले चीन र भारतमा जनघनत्व उच्चदरमा बबढिरहेको छ, उनीहरुलाई खाद्यान्न चाहिन्छ । हामीसँग १७ लाख हेक्टर खेती योग्य जमिन छ, १ सय ३७ वटा ‘माईक्रो इकोसिष्टम’ छ । यहाँ हामीले जे पनि उमार्न सक्छौं । नेपालको भविष्य नै कृषिमा छ । हामीकहाँ असंख्य सम्भावना पनि छ । कृषिले जनतालाई ३ महिनाभित्रै लाभ दिनसक्छ ।

आजको पुस्ता वैदेशिक रुचीमा खेल्नु पर्ने बाध्यता छ, हामी कसरी आफ्नो स्वाधिनता निर्माण गर्न सक्छौं ?

मैले हेरेको नेपालका लागि एउटा खाका बीपीले दिनुभएको छ । उहाँले दुई देशका बीचमा सुमधुर सम्बन्धको कुरा गर्नुभएको थियो । हामीले सबैभन्दा ध्यान दिनुपर्ने भनेको भारत र चीनसँगको सम्बन्धका बारेमा हो । यी दुईबीच द्वन्द्व भयो भने त्यसले हामीलाई समेत नराम्रो क्षति हुनसक्छ ।

म नेपाली काँग्रेस मात्र होईन अन्य दलहरुलाई पनि भन्छु, जोसुकै सत्तामा आओस् भारत र चीन दुवैसँग राम्रो सम्बन्ध राख्न सक्नुपर्छ । एउटा भारत र नेपालबीचको सम्बन्ध र अर्काे अरु अन्तर्राष्ट्रिय ‘प्लेयरहरु’बीचको सम्बन्ध । नेपालले आफ्नो वैदेशिक नीति स्पष्ट पार्नुपर्छ । राष्ट्रिय हितलाई ध्यानमा राखेर यस्तो नीति हरेक पार्टीको समान हुनुपर्छ ।

यसपटकको संविधानसभामा पनि विभिन्न जाति, वर्ग, पेशा र समुदायको प्रतिनिधित्व छ, यसरी फरकफरक विचार बोकेका मानिसको विभाजित प्रतिनिधित्वलाई समेटेर संविधान निकाल्ने चुनौतिलाई कसरी पार गर्न सकिएला ?

यो चुनौति पनि हो र मेरो हिसाबले ठूलो अवसर पनि हो । ‘पोलिटिकल्ली’ पनि सबैको प्रतिनिधित्व छ । हामीले आउँदो एक वर्षमा छलफल गर्छाैं र ‘डेमोक्रेटिक भ्यालु’ र ‘आइडियाज्’हरुलाई टिप्न सक्नु पर्‍यो । अलिकति ‘कन्र्टोभर्सियल’ कुरा गरिदिउँ, महिलाको नेतृत्व महिलाले मात्रै गर्नुपर्छ भन्ने छ र ? के पुरुषले महिलाको नेतृत्व गर्न सक्दैन ?, के एउटा दलितले गैरदलित प्रतिनिधित्व गर्न सक्दैन र ? यो ‘फण्डामेन्टल’ प्रश्न हो ।

यस्ता ‘डिवेट’हरु पनि अवश्य आउँछ, यसमा कसले ‘कन्भिन्स’ गर्न सक्ला उसैको कुरा आउला ।

यी विविध विचारलाई सम्बोधन गर्न आजको नेतृत्वमा कसले सक्ला ?

एकैजना नभनौं न । हुन त प्रधानमन्त्री एक व्यक्ति नै हो । उसको पछाडि पार्टी हुन्छ, अन्य नेताहरु र दलहरु पनि त हुन्छन् ।

एक वर्षमा संविधान बन्ला ?

बन्नुपर्छ ।

तपाईंले त्यही नारा दिएर भोट मागेको हो नसके के गर्नुहुन्छ ?

संविधान बनेन भने राजीनामा दिनुपर्छ ।

तपाईं राजीनामा दिनुहुन्छ ?

यस्तै परिस्थिति आयो भने त दिनैपर्‍यो नि ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us