एसएलसीको प्रश्नपत्र छाप्न सुरु

काठमाण्डु टुडे २०७० माघ १० गते १३:५७ मा प्रकाशित

भक्तपुर, १० माघ– जनक शिक्षा सामग्री केन्द्रले शुक्रबारदेखि एसएलसीको प्रश्नपत्र छाप्न सुरु गरेको छ । आगामी चैत ६ गतेदेखि सुरु हुने परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र छाप्न थालिएको कार्यालयले जानकारी दिएको छ ।

करिब ५ लाख परीक्षार्थीका लागि आवश्यक पर्ने आठ विषयको प्रश्नपत्र जनक शिक्षामा छाप्न थालिएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन तहको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको केन्द्रले जानकारी दिएको छ ।

सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएको प्रश्नपत्र छपाइमा नेपाली सेनाका २५, सशस्त्र प्रहरीका ३० र नेपाल प्रहरीका १५ जना गरी ७० जना सुरक्षाकर्मीको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ सुरु भएको केन्द्रले जनाएको छ ।

प्रश्नपत्र छाप्न खटिएका कुनै पनि कर्मचारी प्रश्नपत्र छपाइ कार्य नसकिएसम्म बाहिर निस्कन नपाइने, मोवाइललगायतका प्राविधिक सामग्री लैजान नपाइने र परिवारसँगसमेत सम्बन्ध बिच्छेद गरेर बस्नुपर्ने भएको छ ।

प्रश्नपत्र छाप्ने कार्य नसकिएसम्म केन्द्रका कर्मचारी र परीक्षा नियन्त्रण कार्यालयका आधिकारिक व्यक्तिबाहेक अरुलाई पनि प्रवेश निषेध गरिएको छ । केन्द्रका कर्मचारी समेत सुरक्षा घेराभित्र प्रवेश गर्न पाउने छैन भने सुरक्षा व्यवस्था कडा पारिएको केन्द्रले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us