संसदीय दलको नेता प्रचण्ड नै

काठमाण्डु टुडे २०७० माघ ८ गते ४:४० मा प्रकाशित

prachand-tika3काठमाण्डु, १० माघ- संसदीय दलको नेताबारे एमाओवादीमा दोस्रो तहका नेताबीच विवाद बढ्न थालेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैं बन्ने मनस्थिति बनाएका छन् ।

‘संसदीय दलको नेता को हुने भन्ने विवाद बढ्न थालेपछि अध्यक्षले आफैं हुने मनस्थिति बनाउनु भएको छ,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘अध्यक्ष नै भएपछि विवाद हुदैन ।’ आफू दलको नेता भएपछि संविधानसभामा प्रस्तुत हुन सहज हुने भएकाले प्रचण्डले मनस्थिति बनाएका हुन् । पहिलो संविधानसभामा पनि प्रचण्ड नै संसदीय दलको नेता थिए ।

सम्भवतः आगामी संसदीय दलको बैठकमा यसबारे निर्णय हुनेछ । प्रचण्ड आफू नहुँदा नेता कृष्णबहादुर महरालाई बनाउने तयारीमा थिए । तर नेता बाबुराम भट्टराई पक्षले टोपबहादुर रायमाझीलाई अघि सारेपछि विवाद चुलिएको थियो । त्यसैले बुधबार बसेको एमाओवादी संसदीय दलको बैठकमा यसबारे निर्णय हुन सकेन । भट्टराईले संविधान नबन्दासम्म कुनै पनि पदमा नबस्ने घोषणा गरिसकेका छन् । यसै विषयमा केन्द्रित भएर बिहीबार प्रचण्ड निवास लाजिम्पाटमा भएको प्रचण्ड-भट्टराईबीचको ‘लन्च बैठक’ पनि कुनै सहमतिमा पुग्न सकेन । प्रचण्डले संसदीय दललगायतका विषयमा भट्टराईसँग कुरा गरेका थिए । ‘दुई नेता राजनीतिक, सैद्धान्तिक विषयमा छलफल भयो’ प्रवक्ता अग्नि सापकोटाले भने ।

भट्टराई निकट स्रोतका अनुसार प्रचण्डले संसदीय दललगायतका शक्ति बाँडफाँड गर्न छलफल गर्न खोजेका थिए । ‘अध्यक्षले संसदीय दललगायतमा पद बाँडफाँड कुरा गर्न खोज्नु भएछ,’ स्रोतले भन्यो, ‘बाबुरामले समग्र राजनीतिक कार्यदिशामा छलफल गर्ने प्रस्ताव गरेपछि त्यसमै छलफल भयो ।’ भट्टराईले पार्टीको आगामी कार्यदिशालाई नयाँ ढंगले लागू नगरी पार्टी नबन्ने उल्लेख गर्दै त्यसका लागि बेलैमा सोच्नुपर्ने बताएका थिए । – कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us