म्यादी प्रहरी बन्न गएकी आमा अर्कैसँग गएपछि…

काठमाण्डु टुडे २०७० माघ ९ गते ९:२४ मा प्रकाशित

बर्दिवास,  ‘भन्नुस् न, हामलो मामु कहिले आउनुहुन्छ..?’ तीनवर्षे भरत बरालको बालसुलभ तोतेबोलीमा सोधिने जिज्ञासाको उत्तर कुनै सहानुभूति राख्नेसँग नभए पनि उनको यो प्रश्न भने दोहोरी रहेको हुन्छ ।

घर फर्कंदा धेरै मिठाई ल्याइदिने बताएर गत संविधानसभा निर्वाचनमा म्यादी प्रहरीको जागिर खान गएकी आमा पवित्रा नफर्केपछि भरत अचेल आफ्नो घर अगाडिको बाटो भएर हिँड्ने सबै बटुवासँग ‘मामु’ बारे सोधखोज गरिरहेको भेटिन्छन् ।

महोत्तरी जिल्लाको गौरीवास १ स्थित रातु नदीको कान्लामा रहेको झोपडी घरमा ७५ वर्षीय वृद्ध ससुरा जितबहादुर बराल, ७० वर्षीया बोल्न नसक्ने सासू, छ वर्षीया छोरी भावना र गर्भमै छँदा बाबु मरेका तीन वर्षीय छोरा भरतलाई घरमा छाडेर म्यादी प्रहरीको जागिर खान गएकी २५ वर्षीया पवित्रा घर नफर्केपछि भरतको ‘मामु’ खोज बढेको हो ।

पवित्राले भने जागिरकै क्रममा आपूmसँगै म्यादी प्रहरी रहेका सिरहा जिल्लाका एक युवकसँग घरजम गरेर घर नफर्केपछि आमरुपमा सबैले हेर्दा सफल देखिएको निर्वाचन भने दुई स–साना बालबालिकाका र बोल्न नसक्ने ७० वर्षीया वृद्धाका लागि दुःखको पहाड बनेको छ ।

निर्वाचनमा म्यादी प्रहरी भएकी आमाले कमाएर ल्याउने पैसाले मीठो कुरा खाने सो बस्तीका दुई बालबालिकाको रहर जागिर खान गएकी आमा नै नफर्केपछि सधैँका लागि कहालीलाग्दो अतित भएको वरिपरिका छिमेकी बताउँछन् ।

पवित्रा म्यादी प्रहरीमा जागिर खान गएर नफर्केकै बीचमा घरका मुख्य बूढा जितबहादुरको मृत्यु भएपछि त, बाँकी पूरै बेसहारा बनेका सोही बस्तीकी सामाजिक कार्यकर्ता सरस्वती चौधरीले बताइन् ।

बाबुको मृत्युपछि आमा पवित्रा, ७५ वर्षीय हजुरबा (बाजे) जितबहादुर बराल र अपाङ्गता भएकी ७० वर्षीया हजुरआमा (बज्यै) सँग बस्दै आएका छ वर्षीया भावना र तीन वर्षीय भरत बरालको आमाले अर्कै विहे गरेर एकसाताअघि हजुरबुबा बितेसँगै बिल्लीबाठ भएको छ ।

बाबु मरेर गए पनि आमा र हजुरबुबाको रेखदेख पाएका दुवै बालबालिकासँगै बोल्न नसक्ने उनीहरुकी ७० वर्षीया लाटी हजुरआमा पनि बुहारीको अर्को बिहे र पतिको मृत्युले बेसहारा भएकी छन् ।

अहिलेसम्म आमा पराइघर गएकी थाहा नपाएका भरत भने ‘मामु’ फर्कंदा ल्याउने मिठाईको भागबारे दिदी भावनासँग झगडासमेत गरिरहेका देखिन्छन् । ‘मामु’ले ल्याउने मिठाईमा आपूmले एउटा बढी पाउनुपर्ने अडान दिदीसँग राख्दै आएका भरतले अब ‘मामु’ नआउने कुरा थाहा पाउँदा के प्रतिक्रिया जनाउने हुन्, त्यसको अनुमान गर्न गाह्रो हुने जनता बहुमुखी क्याम्पसमा स्नातकतहमा अध्ययनरत छात्रा निता चिमोरियाको भनाइ छ ।

निर्वाचनमा म्यादी प्रहरीको काम भेटाएकी पवित्राले आपूmसँगै म्यादी प्रहरीमै काम गरेका युवकसँग विहे गरेर गएपछि उनका स–साना दुई छोराछोरी र ७० वर्षीया लाटी बूढी दिनरात रोएर काटिरहेका छिमेकीको भनाइ छ ।

दया लागेर कसैले केही खानेकुरा दिइहाले पनि आमाको सम्झनाले स–साना नानीहरुको आँसु नरोकिएको सोही बस्तीकी मनमति परियारले बताइन् । रातु नदीको कान्लामा एउटा झुपडी घरबाहेक सम्पत्तिको नाउँमा अरु केही नभएका यिनीहरुको रेखदेख र जीवन गुजाराको कुरामा सामाजिक संघसंस्था एवं राज्यपक्षले चासो बढाउनपर्ने सो गाउँका बासिन्दाको धारणा छ ।

अरु बेला बग्रेल्ती सङ्घसंस्थाका प्रतिनिधि बर्दिवासका साधन सम्पन्न होटलमा बालअधिकार विषयका कार्यशाला सञ्चालन गर्दै भेटिए पनि अहिले भने यो बेसहारा परिवारको हेरचाहका लागि आवश्यक सुझाव दिन पनि कोही नभेटिएका गौरीडाँडास्थित सुनगाभा सामुदायिक रेडियामा कार्यरत कार्यक्रम सञ्चालिका मेनका श्रेष्ठले बताइन् ।

सम्पत्तिको नाउँमा नदी किनार नजिकैको कान्लास्थित झुपडी घरबाहेक केही नभएको यस परिवारका दुई अबोध बालबालिका र उनीहरुकी लाटी वृद्ध हजुरआमाको बिजोग देख्दा मन बुझाउने ठाउँ नदेखिने छिमेकीको भनाइ छ ।

कसैले दया गरेर एक टुक्रा रोटी दिएको भरमा यिनीहरुको जीवन गुजारा नचल्ने भएकाले बेसहारा भएको यो परिवारप्रति राज्यले उत्तरदायित्व लिनुपर्ने गौरीडाँडाका आम बासिन्दा बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us