छोराको आशमा ११ सन्तान !

काठमाण्डु टुडे २०७० माघ ९ गते ४:०० मा प्रकाशित

कालीकोट, ९ माघ–पुरातन सोचाइका कारण कालीकोटका ग्रामीण क्षेत्रमा छोरीलाई हेर्ने दृष्टिकोणमा भिन्नता भएकाले छोराको आशामा सन्तान जन्माउने क्रम बढ्दै गरेको छ । नौं छोरीको जन्म दिएकी लालपुरा टमट्टा वर्षले अहिले ४० मात्र भएकी छन् । १६ वर्षको उमेरमा मागीविवाह गरेकी फुकोट–९ बांखरकोटकी लालपुराका एक वर्षको अन्तरमा बच्चा जन्मिएको बताएकी छन् ।

छोराका आशामा उनले ४० वर्षभित्र ११ सन्तान जन्माइन् । दुई छोरी जेठी र कान्छीको जन्मँदा जन्मँदै मृत्यु भएको भए पनि उनका अहिले सातवटा छोरी, दुई छोरा गरी नौ सन्तान रहेका छन् ।

आम्दानीको स्रोत केही नभएका कारण पारिवारिक समस्या आउने गरे पनि जेनतेन समस्या समाधान गर्न धौधौ पर्ने गरेको बताइएको छ । घरको पारिवारिक समस्या समाधानका लागि लालपुराका श्रीमान् देवी टमटा बर्सेनि भारत जाने गरेका छन् । भारतमा गएर घरपरिवारलाई लत्ताकपडा ल्याउँदै ठिक्क हुने गरेको र घरको कमाइले खानसमेत समस्या आउने गरे पनि सात छोरीलाई पढाउन लगाएको लालपुराले बताइन् ।

जेठी छोरी दक्षिणा अहिले कक्षा ७ मा अध्ययन गर्दै छिन् । गाउँका विद्यालयमा त्यति धेरै खर्च नहुने बरु उल्टै छात्रावृत्ति मिल्ने भएकाले पढाउन समस्या नआउने गरेको लालपुराको भनाइ  छ । उनका अनुसार घरको सानोतिनो कामको पनि सघाउ पुग्ने र पढाइ पनि भइरहने भएकाले त्यति कठिनाइ नहुने र भोलिका दिनमा छोरीको जन्म भए पनि पराइघरमा जाने भएकाले अहिले दुःख भए पनि भोलि दुई छोरा मात्र भएकाले सुखको आशा लिएको उनको भनाइ छ ।

उनले त्यति मात्र होइन छोरा साना भएकाले अझै अन्य सन्तान जन्माउने सोचमा आफू रहेको उनको भनाइ छ । ग्रामीण इलाकामा जनचेतनाको अभावका कारण सन्तान रहरले नभई बाध्यताले जन्माउने गरेको स्थानीय स्वास्थ्यकर्मी बताउँछन् । बांखरकोट गाउँकी ४१ वर्षीया गौरा लुवार भने छोरीको आशामा छ छोरा जन्माउन पुगेको बताउँछिन् ।

उनले आफ्ना श्रीमान् मन्दिर लुवारका समेत बहिनी नभएका र आफ्नो कोखबाट पनि छोरी जन्मिने आशामा छ छोरा जन्मिएका छन् । उनका दुई छोरा ५ कक्षासम्मको अध्ययन गरेर बीचमै भारत गएर पढाइ बिग्रेको बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us