परीक्षा आयो, ब्रेल बुक आएन

काठमाण्डु टुडे २०७० माघ ९ गते ३:५१ मा प्रकाशित

बारा, ९ माघ–फलामे ढोका भनेर चिनिने एसएलसीमा बारा डुमरवानाका दृष्टिविहीन विद्यार्थीले कक्षा कोठामा सुनेकै भरमा परीक्षा दिनुपर्ने बाध्यता बनेको छ । शिक्षा कार्यालयले ब्रेललिपि विगत पाँच वर्षदेखि उपलब्ध नगराउँदा सुनेकै भरमा परीक्षामा बस्न बाध्य भएपछि उनीहरु चिन्तित भएका छन् ।

ब्रेल पुस्तकको अभावमा पढ्न नमिल्ने भएपछि दृष्टिविहीन विद्यार्थी भने आगो र घाम तापेर दिन कटाउने गरेका छन् ।

कक्षा १ देखि १२ कक्षासम्म ३६ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत् दृष्टिविहीन विद्यालयलाई हेलन केलर फाउन्डेसनले सहयोग गर्न छाडेपछि सात वर्षदेखि स्थानीय चन्दाकै भरमा सञ्चालन हुँदै आएको छ ।

अर्थशास्त्र, लेखा र कार्यालय सञ्चालनको पुस्तक हालसम्म नपाएकाले विकल्पमा सिडी पठाउने बताए पनि नआएको बताउँदै दृष्टिविहीन शिक्षक कृष्ण तिमिल्सेना भन्छन्, ‘कक्षा ११ र १२ को पुस्तकबिना नै पढाउनुपर्ने बाध्यता रहेको छ ।’

रौतहट, बारा र पर्साका करिब २४ जना विद्यार्थीले सो विद्यालयबाट अध्ययन सम्पन्न गरेर उच्च शिक्षाका लागि अन्यत्र गएको विद्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us