काँग्रेस दलको नेता चयन प्रक्रिया शुरु

काठमाण्डु टुडे २०७० माघ ९ गते ३:०४ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ९ माघ– नेपाली काँग्रेस संसदीय दलको नेता चयन प्रक्रिया विहीबारबाट शुरु भएको छ । सर्बसम्मतिको प्रयास असफल भएपछि काँग्रेसले निर्वाचनबाट दलको नेता चुन्न लागेको हो ।

सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले संसदीय दलको नेतामा दावी गर्दै आएका छन् । काँग्रेस विधानमा दलको नेताले सरकारको नेतृत्व गर्न पाउने भएकाले तिनैजना नेताले आ–आफ्नो दावी गरेका हुन् ।

निर्वाचन समितिका अनुसार विहीबार मतदाता नामावली प्रकाशन हुने छ । मतदाता उपरको दावी विरोध तथा दावि विरोधमा छानविन गरी अन्तिम नामावली प्रकाशन पनि विहीबारै हुने निर्वाचन समिति संयोजक तथा पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

शनिबार उम्मेदवारी दर्ता, उम्मेदवारको प्रथम नामावली प्रकाशन, नामावली उपर दावी विरोध तथा छानविन, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । संसदीय दलको नेताको निर्वाचन भने आइतबार हुने छ । आइतबार विहान साढे ८ बजेदेखि निर्वाचन हुने छ । सबै सभासदहरुलाई फोटो सहितको परिचय वा नागरिकता सहित संसदीय कार्यालय सिंहदरबारमा उपस्थित हुन निर्वाचन समितिले आग्रह गरेको छ ।

निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न नेताहरु केही दिनदेखि नै व्यस्त छन् । कोइराला, देउवा र पौडेलले सभासदहरुसँग छुट्टा छुट्टै भेट गरी भोट मागेका छन् । काँग्रेसका १ सय ९६ जना सभासद छन् । तिमध्ये धेरैजसो कोइराला पक्षका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us