डाक्टरको आन्दोलन जारी

काठमाण्डु टुडे २०७० माघ ९ गते ८:२८ मा प्रकाशित

Dr.Gobinda-KCकाठमाण्डु, ९ माघ– त्रिभुवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा. शशी शर्मालाई बर्खास्त गरे पनि चिकित्सकहरुले आन्दोलन जारी राखेका छन् । चिकित्सकहरुको आन्दोलनका कारण विहीबार पनि अस्पतालमा आकस्मीक बाहेकका सेवा ठप्प छन् ।

अस्पतालमा सेवा बन्द हुदा विरामीहरु मर्कामा परेका छन् । उनीहरु महंगो शुल्क तिरेर क्लिनिकमा जान बाध्य छन् ।

नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम अनुसार काठमाण्डुको खुलामन्चमा विहीबार स्वास्थ्य शिविर चलाएको छ । संघले आफ्नो स्वास्थ्य जाँच गराउन विरामीहरुलाई खुल्ला शिविरमा आउन अनुरोध गरेको छ ।

डीन शर्मा बर्खास्त भए पनि सबै माग सम्वोधन नभएकोले आन्दोलन जारी रहेको संघका अध्यक्ष अन्जनी कुमार झाले बताए ।

बिभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीले पनि अनसन तोड्न अस्वीकार गरेका छन् । डा. केसीले यसअघि राजनीतिक दवावमा डीन पदबाट राजीनामा दिन बाध्य डा. प्रकाश सायमीको पुनरवहाली वा अर्को कुनै बरिष्ठ र स्वच्छ छविको व्यक्तिलाई डीन नियुक्त गर्नुपर्नेलगायत माग राखेका छन् । केसीको मागमा सबैजसो चिकित्सकहरुले समर्थन जनाएका छन् ।

भ्रष्टचार अभियोगमा अख्तियारको छानविनमा परेका डा. शर्मालाई त्रिवि कार्यकारी परिषदले डिन नियुक्त गरेपछि शिक्षण अस्पताल महाराजगन्जका हाडजोर्नी विशेषज्ञ डा. केसीले १३ दिन अघि आमरण अनसन शुरु गरेका थिए । उनको स्वास्थ्य गम्भीर हुदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us