चितवनका नीजि स्कुल अनिश्चितकालिन बन्द

काठमाण्डु टुडे २०७० माघ ९ गते २:१३ मा प्रकाशित

चितवन, ९ माघ– पूर्वसहमती कार्यान्वयन नभएको भन्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनले विहीबादेखि चितवनका नीजि विद्यालयहरु अनिश्चितकालको लागि बन्द आह्वान गरेको छ । जिल्ला शिक्षा कार्यालयको रोहबरमा प्याब्सनसँग भएको १८ प्रतिशत तलव बृद्धि र एक हजार महंगी भत्ता उपलव्ध गराउनुपर्ने सम्झौता लागु नभएको भन्दै नेपाल ईष्टुले विद्यालय बन्द गरेको हो ।

ईष्टुको आन्दोलनका कारण चितवनका डेढ सय भन्दा बढि विद्यालयका झण्डै ८ हजार विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

मागहरु पुरा नभएसम्म कुनै पनि हालतमा विद्यालयहरु खुलाउन नसकिने नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले बताए । विगतमा भएका सहमतिहरु कार्यान्वयन नगर्ने प्याब्सनका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै सोको जिम्मा प्याब्सनले नै लिनुपर्ने भुजेलको भनाइ छ ।

सरोकारवालाहरुले भने शिक्षा जस्तो पवित्र क्षेत्रमा आन्दोलन गरी विद्यालय नै बन्द गर्नु भन्दा समस्या समाधानका लागि फरक बाटो अपनाउन सुझाव दिएका छन् । नेपाल ईष्टुले यसअघि पनि चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us