पोखरामा औद्योगिक व्यापार मेला

काठमाण्डु टुडे २०७० माघ ९ गते १:४७ मा प्रकाशित

पोखरा, ९ माघ–‘लगानीको सम्वर्द्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ पोखरामा विहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुदै छ । उद्योग वाणिज्य संघले आयोजना गरेको मेला माघ २० गतेसम्म चल्ने छ ।

पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा हुने मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधि, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरूका गतिविधिको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ता कपडाका गरी २७० वटा स्टल राखिने आयोजकले जानकारी दिएको छ ।

पोखरालगायत मुलुकभरका औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिजन्य उत्पादनलाई  प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।

मेलाको थप आकर्षणमा युगल जोडी नृत्य प्रतियोगिता, पोखराका उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीका लागि गरिएको पोखरा मण्डप र मुक्तिनाथ एयरबाट तीन हजार पाँचसयमा सात मिनेटको पोखरा दृश्यावलोकन रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us