काँग्रेस संसदीय दलको नेता चुन्न चुनाव

काठमाण्डु टुडे २०७० माघ ८ गते १२:०९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ८ माघ – नेपाली काँग्रेसले मतदान प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ । सर्वसम्मति हुन नसकेपछि निर्वाचनबाटै संसदीय दलको नेता चयन गर्न निर्वाचन समितिले बुधबार कार्यतालिका सार्वजनिक गरेको छ।

प्रवक्ता दिलेन्द्र बडूको नेतृत्वमा रहेको समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार यही माघ १२ गते बिहान साढे ८ देखि साढे ११ बजेसम्म मतदान हुनेछ।

त्यसअघि माघ ९ गते बिहान ११ देखि १ बजेभित्र मतदाताको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । सोही दिन तीन बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ ।

माघ ११ गते मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारहरूले पाँच हजार रुपैयाँ शुल्कसहित मनोनयन दर्ता गराउनु पर्नेछ ।

आइतबार मतदान सकिएपछि मतगणना र निर्वाचन परिणाम घोषणा हुने निर्वाचन समितिका संयोजक दीलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

काँग्रेसमा संसदीय दलको नेता चयनमा सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच कुरा मिल्न नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन गर्न लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us