उपचार गर्न अस्पताल होईन टुँडिखेल !

काठमाण्डु टुडे २०७० माघ ८ गते १०:४९ मा प्रकाशित

काठमाण्डु, ८ पुस – डाक्टर गोविन्द केसीको आमरण अनसनको समर्थनमा ‘रेजिडेन्ट’ डाक्टरहरुले विहीबारदेखि काठमाण्डुको टुँडिखेलमा ओपीडी सञ्चालन गर्ने भएका छन् । नेपाल चिकित्सक संघले बुधबार पत्रकार सम्मेलन गरी टुँडिखेलमा स्वास्थ्य शिविर चलाउने जानकारी गराएको हो ।

केसीले राख्दै आएका माग पूरा गर्न दवाव दिने उद्देश्यले अस्पताल बाहिर स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको संघका अध्यक्ष अन्जनी कुमार झाले बताए । खुल्ला स्वास्थ्य शिविरमा आएर उपचार गराउन सर्वसाधारणलाई उनले अपील समेत गरेका छन् ।

आन्दोलनरत डाक्टरहरुले अस्पताल आएका सर्वसाधारणले त्यसै फर्कन नपरोस् भनेर केहीदिनदेखि अस्पताल बाहिर ओपीडी सेवा दिइरहेका छन् । माग सम्वोधन नभएको विरोधमा संघले देशभरका चिकीत्सक र स्वास्थ्यकर्मीलाई राजीनामा दिन आह्वान समेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा नियुक्त भएका विवादास्पद छविका डाक्टर शशी शर्माको नियुक्ति खारेज हुनुपर्ने, संस्थानमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने लगायत माग राख्दै केसी अनसन बसेका छन् ।

१२ दिनदेखि जारी अनसनबाट केसीको स्वास्थ्य गम्भीर हुदै गएको छ ।

यो पनि पढ्नुहोस्

डाक्टरहरुले गोविन्द केसीको नाममा सपथ लिने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us