छ लेन सडकमा एक वर्षमा २६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० माघ ८ गते ८:२५ मा प्रकाशित

भक्तपुर, ८ माघ – अरनिको राजमार्गअन्र्तगत छ लेन सडकखण्ड मनोहरापुलदेखि सूर्यविनायकचोकसम्म गत एक वर्षमा सवारी दुर्घटनाबाट २६ जनाको ज्यान गएको छ । सो सडक खण्डमा गत एक वर्षमा भएको २५२ वटा सवारी दुर्घटनामा २६ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ती दुर्घटनामा २८० जना घाइते भएका छन् ।

सो सडक खण्डमा गत पुस महिनामा सवारी दुर्घटनाबाट मानिसको मृत्यु भएन । छ लेन सडक निर्माण भएयता सवारी दुर्घटनामा मानिसको मृत्यु नभएको पहिलो महिना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिए ।

पुस महिनामा सो सडक खण्डमा भएका २२ वटा दुर्घटनामा ४० जना घाइते भएका थिए । छ लेन सडकमा गत मंसिरमा सबैभन्दा बढी ३६ वटा दुर्घटना भएको थियो ।

यसमा ५३ जना घाइते हुनुका साथै ४ जनाको मृत्यु भएको थियो । गएको एक वर्षमा सबैभन्दा कम असारमा ११ वटा दुर्घटना भएका थिए जसमा एक जनाको ज्यान जानुका साथै १४ जना घाइते भएका थिए ।

उक्त सडक खण्डमा गत पुस महिनादेखि महिला प्रहरीको विशेष टोली परिचालन गरेपछि दुर्घटना न्यूनीकरणमा उल्लेख्य सुधार आएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

छ लेन सडक खण्डमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति भएको बताउँदै उनले महिला प्रहरीको टोलीले तीव्र गतिमा सवारी चलाउने चालकलाई चेतावनी दिने गरेको जानकारी दिए ।

महिला प्रहरीको टोलीलाई छ लेनमा हुने दुर्घटनाको आकस्मिक उद्धारलगायत दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रुलाई बाटो काट्न मद्दत गर्ने जिम्मेवारी दिइएको श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us