
काठमाण्डु, ८ माघ – अष्ट्रेलिया सरकारले स्वास्थ्य क्षेत्रमा आफूहरुले दिएको सहयोग रकम खर्च हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालका लागि अष्ट्रेलियाली राजदूत ग्लेन व्हाईटले सहयोग काममा नआउँदा आगामी दिनमा त्यसको प्रभाव पर्नेमा सचेत गराएका छन् । ‘जनताको स्वास्थ्यसंग सरोकार राख्ने संवेदनशील शीर्षकमा दिइएको रकम खर्च नहुनु दुखद हो ।’
राजदूत व्हाईटले भने । उनले अष्ट्रेलियाको सहयोगमा उद्योग मन्त्रालय अन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रम (मेडेप) को दक्षता अभिवृद्धि गरी त्यसलाई अझ सशक्तिकरण गर्दै लैजानुपर्ने खाँचो औंल्याए ।
साथै अष्ट्रेलिया नेपालमा बन्न लागेको नयाँ सरकारसंग मिलेर काम गर्न ईच्छुक राजदूत व्हाईटको भनाई छ ।
सो अवसरमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले संविधानसभाको चुनाव सम्पन्न गर्न अन्तर्राष्ट्रिय निकायले खेलेको भूमिकाको प्रशंसा गर्दै नवनिर्वाचित सरकारलाई विश्वाससाथ सहयोग गर्न आग्रह गरे ।
नेपालको आर्थिक विकासका लागि वैदेशिक सहायता महत्वपूर्ण रहेको भन्दै मन्त्री कोइरालाले उर्जा, भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग आवश्यक रहेको बताए ।
चुनावपछि बन्ने सकार पनि खुल्ला अर्थतन्त्रमुखी हुने भएकाले वैदेशिक लगानी सुरक्षित हुने दावी गर्दै कोइरालाले भने, ‘अब चाँडै आउन लागेको वैदेशिक लगानी नीतिले थप आकर्षित गर्नेछ ।’ भेटमा अर्थ मन्त्रालय वैदेशिक महाशाखा प्रमुख मधकुमार मरासिनी पनि सहभागी थिए ।