पुल नबन्दा तीन जिल्लाका बासिन्दालाई सास्ती

काठमाण्डु टुडे २०७० माघ ८ गते ७:२८ मा प्रकाशित

जाजरकोट, ८ माघ – छिन्चु–जाजरकोट सडकअन्तर्गत राकम सल्लेबजारस्थित भेरी पुल निर्माण गर्न थालेको सात वर्ष बित्दा पनि अधुरै रहेको छ ।

ठेकेदार कम्पनीले सुर्खेतस्थित डिभिजन सडक कार्यालयसँग दुई वर्ष भित्र काम सक्ने सम्झौता गरी २०६३ असारमा निर्माण कार्य सुरु गरेको थियो । समयमै काम नगर्ने कम्पनीलाई कारबाही गर्नुको साटो सडक कार्यालयले तेस्रो पटक ठेक्काको म्याद थपेको छ ।

सुर्खेतको राकम र सल्यानको सल्लीबजार जोड्ने १८० मिटर लामो पुल निर्माणका लागि स्वच्छन्द, काष्ठमण्डप, धनथान, प्रदीप र रविनलगायतका  निर्माण कम्पनीले सम्झौता गरेका थिए ।

त्यतिबेला पहिलो चरणअन्तर्गत फाउन्डेसन र सबइन्स्ट्रक्सनको काम दुई वर्ष अर्थात २०६५ असार मसान्तभित्र सम्पन्न गर्ने गरी रु दुई करोड ७० लाखमा सम्झौता भएको थियो । सम्झौतामा उल्लेखित समय गुर्जेको पाँच वर्ष बित्दा पनि पुल निर्माण भएको छैन ।

डिभिजन सडक कार्यालयका अनुसार पहिलो चरणका लागि पा“च महिनाअघि तेस्रो पटक म्याद थपिएको छ । एकपटक डिभिजन सडक कार्यालयले र दुईपटक सडक विभागले ठेक्का म्याद थपेका छन् । कार्यालयका इन्जिनियर तुलाराम शर्माका अनुसार फाउन्डेसनका लागि हालसम्म रु दुई करोड ५० लाख खर्च भइसकेको छ । भौगर्भिक अवरोधले काममा ढिलाइ भएको उनले बताए ।

दोस्रो चरणअन्तर्गत सुपर कन्स्ट्रक्सनको काम पनि अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन । सात करोड लागतको उक्त काम समयमै सम्पन्न नहु“दा एकपटक म्याद थपिएको छ । तीन करोड खर्च हु“दा एउटा स्पान मात्र जोडिएको छ । कुल चारमध्ये दुई स्पानको सामान आइपुगेको र एक स्पानको सामान आउन बा“की रहेको इन्जिनियर शर्माले जानकारी दिए ।

पुल समयमै निर्माण नहुनुमा ठेकेदारको लापरबाही प्रमुख रुपमा रहेको छ । सडक कार्यालयका प्राविधिक यो तथ्यलाई घुमाउरो तरिकाले स्वीकार्छन् । ‘संयुक्त साझेदारी (जेभी) मा सम्झौता भएकाले काममा केही ढिलाइ भएकै हो,’ इन्जिनियर शर्माले भने, ‘अहिले भने लिडिङ कम्पनी नै आएर काम थालेपछि छरितो भएको छ ।’ पाँचवटा कम्पनीको जेभी रहेको पुल निर्माणमा स्वच्छन्द प्रमुख जिम्मेवार निर्माण कम्पनी हो । सुरुका वर्षमा सहायक कम्पनीले काम गरेकामा पछिल्लो समय स्वच्छन्द आफैं आएर काम थालेको इन्जिनियर शर्माको भनाइ छ ।

कार्यालयका अनुसार पुल निर्माणस्थलको नदीबीचमा कडा चट्टान भेटिएपछि निर्माणमा कठिनाइ भएको थियो । ‘नदीभित्रको चट्टान ब्लास्ट गर्न दक्ष प्राविधिक नेपालमा उपलब्ध हुन सकेनन्,’ इन्जिनियर शर्माले भने, ‘अहिले भारतबाट प्राविधिक ल्याएर डिटेक्टर गर्ने काम भइरहेको छ ।’
चट्टान भेटिएको ठाउँमा पिलरका लागि १४ मिटर गहिरो खाल्डो खन्नुपर्नेमा हालसम्म ११ मिटरमात्र खनिएको छ । दुई–चार दिनमै खाल्डो खनिसकेपछि काम अगाडि बढ्ने कार्यालयको भनाइ छ ।

निर्माण कम्पनीले काममा ढिलाइ हुनुको उचित कारण देखाउन नसकिरहेका बेला डिभिजन कार्यालयले भौगर्भिक कारण देखाएपछि उनीहरुलाई केही राहत मिलेको छ । यसअघि ठेकेदारले पिलर निर्माणका लागि अत्यावश्यक  ‘ड्याकलाइन’ मेसिन बिग्रिएकाले समयमै काम सम्पन्न गर्न नसकिएको बताउने गरेका थिए । ‘अब त सडक कार्यालयले नै भौगर्भिक कारणले ढिलाइ भएको भनेपछि सजिलो भएको छ,’ एक प्राविधिकले भने ।

पुल निर्माण नहुँदा १७ वर्षअघि (२०४९ सालमा) थालिएको छिन्चु–जाजरकोट सडकले पूर्णता पाउन सकेको छैन । हिउँदको समयमा फेरीमा तारेर बस सञ्चालन गरिए पनि वर्षातमा नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने गर्दछ । पुल नबनेपछि उक्त सडकको अधिकांश काम अधुरै छ ।

पुल निर्माण नभएसम्म जाजरकोट, रुकुम र हिमाली जिल्ला डोल्पाको समस्या जस्ताको तस्तै रहने छ । पटकपटक फेरी बिग्रँदा आवतजावतमा समस्या भइरहने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us