उदयपुरमा विमानस्थल निर्माणको पहल सुरु

काठमाण्डु टुडे २०७० माघ ८ गते ७:१० मा प्रकाशित

उदयपुर, ८ माघ । करिब चार दशकपछि उदयपुरवासीको विमानस्थल निर्माण गर्ने सपना पूरा हुने भएको छ । वि.सं. २०३२ देखि पटकपटक अनेकौं प्रयासका बाबजुद केही समय अगाडि नेपाल सरकारले विमानस्थल निर्माणको स्वीकृति दिएपछि उदयपुरवासीको सपना पूरा हुने भएको हो ।

सरकारले विमानस्थल निर्माणका लागि स्वीकृति दिएपछि नागरिक उडड्यन प्राधिकरणले धमाधम त्यहाँको विस्तृत सर्वेको काम थालेको छ ।

जिल्ला सदरमुकाम गाईघाट नजिकै रहेको जोगीदह गाविसमा विमानस्थल निर्माण गर्न डिटेल सर्वेलाई अन्तिम रुप दिने काम भइरहेको छ । ट्विनअटर विमान अवतरण हुने गरी केही महिनाअघि ७५० मिटर धावनमार्गको डिटेल सर्वे गरिएको थियो ।

अहिले एआइआर–४२ र जेटस्टिम जस्ता ठूला विमान अवतरण हुनसक्ने गरी नागरिक उडड्यन प्राधिकरणका कार्मचारीले १५ सय मिटर लम्बाइको धावनमार्गको डिटेल सर्भे गरिरहेका छन् ।

छोटो धावनमार्गको डिजाइन पहाडी क्षेत्रमा मात्र प्रयोग हुने भएकाले जोगीदहमा पुरानो डिटेल सर्वे परिवर्तन गरी नयाँ सर्वे भइरहेको सो कार्यमा खटिएका प्राविधिक शम्भु बरालले जानकारी दिए ।

उनका अनुसार नयाँ डिजाइनअनुसार ३० मिटर चौडाइको पक्की धावनमार्ग र धावनमार्गको बीचबाट दुवैतर्फ ७५–७५ मिटर गरी जम्मा १५० मिटर चौडाइ रहनेछ ।
केही समयअघि नेपाल सरकारले उदयपुरसहित पाँच ठाउँमा विमानस्थल निर्माणका लागि नागरिक उडड्यन प्राधिकरणलाई स्वीकृति दिएपछि स्थानीयवासीमा उत्साह छाएको त्रियुगा हवाई मैदान व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले बताए ।

उदयपुरमा विमानस्थल निर्माणका लागि सरकारले यस पटक बजेटमै सम्बोधन गरी काम अघि बढाएकाले चार दशक लामो प्रयासले सार्थकता पाउने उदयपुरवासीको विश्वास रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us