अस्पतालमा आज पनि उपचार ठप्प

काठमाण्डु टुडे २०७० माघ ८ गते ६:०३ मा प्रकाशित

काठमाण्डु, ८ माघ–चिकित्सकहरुको आन्दोलनका कारण बुधबार पनि देशभरका अस्पतालको सेवा ठप्प भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा गरिएको डिन नियुक्तिको निर्णय फिर्ता तथा अनशनमा बसेका डा. गोबिन्द केसीका माग पूरा गर्न माग गर्दै चिकित्सकहरुले उपचार सेवा प्रभावित पारेका हुन् ।

अस्पताल उपचार सेवा बन्द हुँदा हजारौ बिरामीहरु मर्कामा परेका छन् ।

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले डिन नियुक्तिको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिँदै अनसन तोड्न आग्रह गरे पनि गोविन्द केसीले अस्वीकार गरेका छन् । चिकित्सकहरुले पनि १४ दिनदेखि आन्दोलन जारी राखेका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन फिर्ता नलिने उनीहरुको अडान छ ।

सर्बोच्च अदालतले तत्काल उपचार सेवा शुरु गर्न निर्देशन दिएपछि दवावमा परेका चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् भने १२ दिनदेखि आमरण

अनशनमा बसेका हाडजोर्नी विशेषज्ञ  केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ ।

आन्दोलनका थप कार्यक्रम सार्बजनिक हुदै

त्रिभुवन विश्वविद्यालय कार्यकारिणी परिषदलाई माग पूरा गर्न दवाव दिने उद्देश्यले देशभरका सरकारी अस्पतालमा चिकित्सकहरुले आन्दोलन जारी राखेका छन् । देशकै पुरानो बीर अस्पतालका चिकित्सकहरुले अस्पताल परिसरमै विरामीको स्वास्थ्य परीक्षण गरेर सांकेतिक विरोध जनाएका छन् ।

मागमा बेवास्ता गरिएको भन्दै नेपाल चिकित्सक संघले बुधवार थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । संघले दिउसो २ बजे शिक्षण अस्पताल महाराजगन्जमा थप कार्यक्रमको घोषणा गर्न लागेको हो । सरकार समस्या समधान भन्दा झारा टार्न लागेकाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको संघका अध्यक्ष डा. अन्जनी कुमार झाले बताए ।

यसअघि संघले जबरजस्ती काममा लगाउन खोजिए देशभरका सरकारी तथा निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सामुहिक राजीनामा दिने चेतावनी दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us