विद्युत् चोर्ने दस जना पक्राउ

काठमाण्डु टुडे २०७० माघ ८ गते ५:१६ मा प्रकाशित

गौशाला, ८ माघ–नेपाल विद्युत् प्राधिकरण महोत्तरी जिल्ला शाखाले गएराति १० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ । विद्युत् प्राधिकरणले जिल्ला सदरमुकाम जलेश्वरको विभिन्न वडामा विद्युत् चुहावट गरिरहेका स्थानीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विनोद राउत, अजिज कवारी, रामबाबु मण्डल, फिकु कवारी, राकेशकुमार राम, असगरअली खान, ललन राम, अनवर अन्सारी, आनन्द झा र देवेन्द्र चौधरी रहेका छन् ।

पक्राउ परेकाहरुलाई आवश्यक जरिवानापश्चात् छोडिने विद्युत् प्राधिकरण शाखा महोत्तरीका प्रमुख जितेन्द्र झाले बताए ।

महोत्तरीमा भइरहेको ५० प्रतिशत विद्युत् चुहावट नियन्त्रणका लागि गएरातिदेखि थालिएको अभियानअन्तर्गत पहिलो दिन १० जना पक्राउ परेका हुन् । विद्युत् प्राधिकरण शाखा महोत्तरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित विद्युत् कर्मचारीको संयुक्त टोलीको सहयोगमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us