पढ्न थाले बेसहारा चेपाङ

काठमाण्डु टुडे २०७० माघ ८ गते ३:५५ मा प्रकाशित

रत्ननगर, ८ माघ–सहाराविहीन एक चेपाङ बालकलाई चितवनको गामवेसी चेपाङ संरक्षण केन्द्रले सहयोग गरी शिक्षा प्रदान गर्न थालेको छ । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा रहेको गामवेसीको चेपाङ सरक्षण केन्द्रले मकवानपुरको राक्सिराङ–८ ठाडेका आठ वर्षीय सहाराविहीन सुरज चेपाङलाई शिक्षा दिन थालेको हो ।

उनका बाबु शेखर चेपाङ सात वर्षदेखि गैंडा तस्करीको आरोपमा भरतपुर कारागारमा रहेको र आमाले अर्कैसँगै विहे गरेपछि उनी पाँच वर्षदेखि सहाराविहीन थिए । खान, लगाउन र रेखदेख गर्ने कोही नहुँदा उनी पढाइबाट समेत वञ्चित बनेका थिए ।

सहाराविहीन भई शिक्षाबाट समेत वञ्चित भएकाले उचित रेखदेख र शिक्षा प्रदान गर्न उनलाई केन्द्रमा ल्याइएको अध्यक्ष केपीकिरण शर्माले बताए । केन्द्रमा हाल ५० भन्दा बढी चेपाङ बालबालिका आश्रय लिएर अध्ययन गर्दै आइरहेका छन् ।

त्यस्तै खाद्यान्न अभाव र भौगोलिक विकटताका कारण पढाइ छाड्न बाध्य भएका चेपाङ विद्यार्थी शक्तिखोर–९ का भीमबहादुर चेपाङलाई रत्ननगरमा पढाउन थालिएको छ । सौराहामा रहेको सपना भिलेज सोसिएल इम्प्याक्टको सहयोगमा उनलाई चित्रसारीको निमाविमा कक्षा ७ मा भर्ना गरिएको हो । उनलाई आवासीय सुविधासहित उच्च शिक्षासम्म अध्ययन गराइदिने सोसिएल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।

चितवनमा चेपाङ बालबालिका शिक्षाबाट वञ्चित हुँदै आएका छन् । अझै गाउँमा उमेर पुगेका बालबालिका आर्थिक अभाव र चेतना अभावले पढाइबाट वञ्चित रहेको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us