एमाओवादी संसदीय दलको नेता टुंगो लागेन

काठमाण्डु टुडे २०७० माघ ८ गते ६:४४ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ८ माघ – संसदीय दलको नेता टुंगो लगाउन बसेको एमाओवादी संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल भएपनि कुनै निर्णय भएन ।

अघिल्लो संविधानसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता थिए ।

सो अवसरमा संविधानसभा बैठकमा सभासदहरुले खेल्नु पर्ने भूमिकाका विषयमा समेत छलफल भएको थियो ।

दोस्रो संविधानसभामा एमाओवादीबाट प्रतिनिधित्व गर्ने अधिकांश नयाँ अनुहार भएकाले उनीहरुले खेल्नुपर्ने भुमिका र पार्टी नीतिबारे जानकारी गराइएको एमाओवादीले जनाएको छ ।

संविधानसभामा एमाओवादीका ८० सभासद छन् ।

त्यसअघि पार्टी कार्यालयमा नै केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठक माघ २ गतेदेखि जारी छ । २ सय ६८ केन्द्रीय सदस्य मध्ये अधिकांशले धाराणा राख्न बाँकी नै छ । सबै सदस्यहरुलाई १०–१० मिनेट बोल्न दिइएको छ ।

यो अवस्था हेर्दा बैठक अझै केही दिन लम्विने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us