एमाओवादी नेताहरुले भने-‘नेतृत्व परिवर्तन होइन रुपान्तरण’

काठमाण्डु टुडे २०७० माघ ७ गते १३:३० मा प्रकाशित

maoist-flagकाठमाण्डु, माघ – एकीकृत माओवादीका नेताहरुले पार्टी नेतृत्व रुपान्तरण हुनु पर्ने बेला आएको बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा धारणा राख्ने नेताहरुले अहिले नै नेतृत्व परिवर्तन गर्नुभन्दा रुपान्तरण गर्नु पर्नेमा जोड दिएका हुन् ।

बैठकमा बोल्दै वरिष्ठ नेता पोष्टबहादुर बोगटीले नेतृत्व परिवर्तन भन्दा पनि रुपान्तरण गर्ने बेला आएको बताए ।

अर्का केन्द्रीय नेता कृष्णबहादुर महराले स्वतन्त्र सर्वहारा वर्गीय चिन्तनले अभिप्रेरित भएर पार्टीले छुट्टै पहिचान बनाउँदै चुनावमा भएको क्षणिक पराजयबाट सफलता हासिल गर्न सकिने धारणा राखे ।

यस्तै जनार्दन शर्मा प्रभाकरले प्रचण्डको नेतृत्व परिवर्तन वा हस्तान्तरण गर्ने बेला नआएको बताए । प्रचण्डको नेतृत्व परिवर्तनको कुरा गर्नुभन्दा अझै मजबुत पार्नुपर्ने उनको भनाई थियो ।

साथै नेताहरुले सरकारमा जान नहुनेमा समेत जोड दिएका थिए । बैठकमा आफ्नो धारणा राख्दै नेता देवेन्द्र पौडेलले सरकारमा जान नहुनेमा जोड दिए । गुट–उपगुटभन्दा मिलेर अघि बढ्नु पर्ने उनको भनाई थियो ।

अध्यक्षको प्रतिवेदनमा समर्थन जनाएका पौडेलले नेतृत्व परिर्वतनका विषयमा बोल्दै अहिले नै नेतृत्व परिवर्तन गर्नेभन्दा कुनै न कुनै ढंगबाट प्रक्रिया सुरु गर्नुपर्ने बताए । आफूले नेतृत्व रुपान्तरित हुनु पर्ने कुरामासमेत जोड दिएको नेता पौडेलले काठमाण्डु टुडेलाई जानकारी दिए ।

त्यसैगरी नेता विश्वभक्त दुलालले कार्यदिशाको अस्पष्टताले पार्टीमा समस्या आएको धारणा राखे। मंगलबारको बैठकमा नेता पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, विश्वभक्त दुलाल, देवेन्द्र पौडेल, हिसिला यमी, जनार्दन शर्मा प्रभाकर लगायतका ८ जनाले धारणा राखेका छन् । बैठक बुधबार बिहान ११ बजे पुन: बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us