छुट उपयोग गर्ने करदाताको संख्या न्यून

काठमाण्डु टुडे २०७० माघ ७ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, ७ माघ – चालु आर्थिक वर्षको बजेटबाट दिइएको कर छुट सुविधा थोरै करदाताले मात्र उपयोग गरेको पाइएको छ ।

बजेटमार्फत सरकारले दिएको कर छुट सुविधा पुस मसान्तमा सकिएको हो । राजस्व विभागले ५० हजार करदाताले छुट सुविधा उपयोग गर्ने लक्ष्य लिएको भए पनि १५ हजार ५०० ले मात्रै सो सुविधा उपयोग गरेको जनाएको छ ।

विभागका अनुसार स्थायी लेखा नम्बर लिई वार्षिक रु २० लाखको कारोबार गर्ने गरेको भए पनि करदाताले छुट सुविधा उपयोग गरेका छैनन् ।

त्यस्ता व्यक्तिले आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को विवरणमात्रै पेस गरे पुग्ने र त्यस अवधिभन्दा अघिका वर्षको आयकर, शुल्क र ब्याज मिनाहा पाउने सुविधा विभागले गरेको थियो ।

सो सुविधा दिँदा पनि करको दायरामा नआउने करदातालाई आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी गरिएको राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले जानकारी दिए ।

पुस मसान्तसम्म करदातालाई सूचना जारी गरी कर सुविधा लिन आग्रह गर्दा पनि करको दायरामा नआएपछि कारबाही प्रक्रिया अगाडि बढाउन लागेको उनले बताए ।

करदातालाई करका बारेमा जानकारी हुँदाहुँदै पनि नियम नमानेर व्यापार व्यवसाय गरिरहेका कारण सो प्रक्रिया अपनाउन लागिएको शर्माको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us