डीन नियुक्तिको निर्णयबाट सरकार पछि हट्यो

काठमाण्डु टुडे २०७० माघ ७ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, ७ माघ – त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नयाँ डीन नियुक्त गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

त्रि.वि.का कुलपति एवम् मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा.शशी शर्मालाई नियुक्त गर्ने निर्णय निष्क्रिय गरी कार्यान्वयन नगर्न-नगराउन निर्देशन दिएका छन् ।

रेग्मीले उपकुलपति डा. हिराबहादुर महर्जनलाई पत्र लेखेर शर्माको नियुक्ति निश्कृय गरी २४ घण्टाभित्र सो को जानकारी पठाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

उनले त्यसअघि प्रधानमन्त्री कार्यालयमा केही मन्त्रीहरुसंग छलफल गरेका थिए ।

शर्मालाई डीनमा नियुक्त गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द के.सी आमरण अनसनमा बसेपछि सरकारले बाध्य भएर निर्णय फिर्ता लिएको हो ।

अनसन फिर्ता लिन अाग्रह

सरकारले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन पुन: आग्रह गरेको छ । मन्त्रिपिरषद्का अध्यक्ष खिलराज रेग्मीले मंगलबार साँझ डा केसीलाई भेटेर यस्तो अाग्रह गरेका हुन् । भेटमा शिक्षा मन्त्री माधव पौडेल र स्वास्थ्य मन्त्री विद्याधर मल्लिक पनि उपस्थित थिए ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट जारी विज्ञप्तीको पूर्णपाठ

त्रिभुवन विश्वविद्यालय, चिकित्साशात्र अध्ययन संस्थान, शिक्षण अस्पताल महाराजगंजमा विगत केही दिन देखि उत्पन्न परिस्थिति र सो संस्थानको डीन नियुक्तिको विषय समेतलाई लिई प्रा. डा. गोविन्द के.सी.ले गरिरहनु भएको अनसनको विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस सम्वन्धमा समस्या समाधानको लागि नेपाल सरकारले विभिन्न मितिमा विषयको गम्भिरता र अनसनमा वस्नु भएका डा. के.सी. को स्वास्थ्य स्थितिलाई दृष्टिगतगरी शिक्षण अस्पताल महाराजगंजमा उत्पन्न परिस्थितिका कारणवाट स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा प्रतिकूल असर पर्न नदिन र शिक्षण अस्पताल तथा स्वास्थ्य संस्थाहरुको सेवा सुचारु राखी स्वास्थ्य सेवा पाउने आम नागरिकको अधिकारको संरक्षण गर्नको लागि नेपाल सरकारले सम्पूर्ण स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई अपिल गरेको विदितै छ ।

यसका साथै सम्मानीत सर्वोच्च अदालतवाट मिति २०७०/१०/६ मा जारी भएको आदेशको मर्म र भावना अनुरुप सुचारु रुपले स्वास्थ्य सेवा प्रवाह गर्न र अदालतको आदेश कार्यान्वयन गर्न सम्वद्ध निकायहरुलाई आजै निर्देशन दिई सकिएकोछ ।

त्रिभुवन विश्वविद्यालयवाट हालै सो विश्वविद्यालय अन्र्तगतको चिकित्साशास्त्र अध्ययन संस्थान को डीन नियुक्तिको विषय समेतलाई लिएर प्रा. डा. गोविन्द के.सी. ले गरिरहनु भएको अनसनका सम्वन्धमा विश्वविद्यालयका पदाधिकारीहरुसंग भएको छलफल तथा विशेषतः प्रा. डा.के.सी.ले नव नियुक्त डीनको राजिनामाको विषय लिई अनसन नतोड्नु भएको अवस्थामा वहाँको माग सम्वोधन गरी जीवन रक्षाको लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ को उपदफ (३) बमोजिम शिक्ष मन्त्री तथा विश्वविद्यालयका सह–कुलपतिले डीन नियुक्ति सम्वन्धी विश्वविद्यालयको निर्णयलाई पुर्नबिचार गर्न मिति २०७०/१०/५ मा निर्देशन दिएकोमा हालसम्म सो निर्देशन कार्यान्वयन नभएको र प्रा.डा. गोविन्द के.सी.को स्वास्थ्य अवस्था गम्भीर हुदै गएको अवस्थामा आवश्यक निर्णय हुन् ।

शिक्षा मन्त्री एवं सह–कुलपतिवाट मिति २०७०/१०/७ मा मन्त्रिपरिषद्का सम्माननीय अध्यक्ष समक्ष प्रतिवेदन प्राप्त भएको र प्रा. डा. गोविन्द के.सी.को अनसनको कारणले शिक्षण अस्पतालको सेवा प्रभावित भएको र अन्य स्वास्थ्य संस्थाहरु पनि प्रभावित भएको कारण स्थिति जटिल हुदै गएको छ । अनसनमा बस्नु भएका प्रा. डा. गोविन्द के.सी.को स्वास्थ्य गम्भीर हुदै गएको तर्फ सवैको ध्यान आकृष्ट भएको हुँदा डा. के.सी.को जीवनरक्षाको लागि सरकार र विश्वविद्यालय संवेदनशील बनी उपयुक्त निर्णय लिनु पर्ने अवस्था आएको छ ।

यस स्थितिमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १६ को उपदफा (३) ले विश्व विद्यालयका कुलपतिले विश्वविद्यालय वा विश्वविद्यालयसंग सम्वन्धित जुनसुकै विषय वा वस्तुको निरीक्षण गर्न निर्देशन दिन सक्ने कानूनी व्यवस्था गरेको पृष्ठभूमिमा तदनुसार अहिलेको असाधारण परिस्थितिमा उपयुक्त निर्णय नलिने हो भने डा. गोविन्द के.सी.को जीवन खतरामा पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंजको डीनको पदमा डा. शशि शर्मालाई नियुक्त गर्ने त्रिभुवन विश्वविद्यालयवाट भएको निर्णय कार्यान्वयनको जे जस्तो चरण र अवस्थामा रहेको भए तापनि सो निर्णयलाई निष्क्रिय गरी निर्णय कार्यान्वयन नगर्न नगराउन र २४ घण्टा भित्र सो को जानकारी विश्वविद्यालयका कुलपति एवं मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षलाई गराउन कुलपति एवं मन्त्रिपरिषद्का सम्माननीय अध्यक्षज्यूवाट आजै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखि पठाई सकिएको छ ।

यस स्थितिमा विभिन्न मागहरु राखी शिक्षण अस्पताल महाराजगंजमा अनसनमा वस्नु भएका प्रा. डा. गोविन्द के.सी.लाई तत्काल अनसन अन्त्य गर्न नेपाल सरकार पुनः आग्रह गर्दछ । प्रा. डा. गोविन्द के.सी.ले उठाउनु भएका अन्य मागहरुका सम्वन्धमा वार्ता र छलफलबाट संम्बोधन गर्न सकिने नै हुँदा त्यस्को लागि नेपाल सरकार सदैव तत्पर रहेको छ ।

साथै सम्वद्ध सवै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा नियमितरुपमा सुचारु गर्न र स्वास्थ्य सेवा प्राप्त गर्ने आम नागरिकहरुको हकको सम्मान गर्न समेत अनुरोध गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us