
काठमाण्डु, ७ माघ – नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा लिन अस्पताल आएका बिरामीलार्ई ‘सेवा बन्द छ भनेर’ फिर्ता नपठाउन आफ्ना सदस्य चिकित्सकहरु र सम्बन्धित अस्पताल व्यवस्थापनलाई आग्रह गरेको छ ।
‘अस्पतालमा आउने बिरामीको आकस्मिक सेवाबाट उपचार गर्न, भर्ना भएका बिरामीलाई अन्तरङ्ग सेवाबाट उपचार गर्न र माग पूरा नभएसम्म बहिरङ्ग सेवा बन्द गर्न’ संघले पत्रकार सम्मेलनमार्फत अस्पताल व्यवस्थापन र चिकित्सकलाई आह्वान गरेको हो ।
संघद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले अस्पतालमा आउने बिरामीलाई आकस्मिक ढोकाबाट प्रवेश गराई उपचार गर्न र बिरामीलाई फिर्ता नगर्न आह्वान गरे ।
र्वाेच्च अदालतले दिएको आदेशलाई उच्च सम्मान गरेको भन्दै उनले संघले अत्यावश्यक स्वास्थ्य सेवाहरु आकस्मिक सेवाबाट प्रदान गर्न चिकित्सकहरुलाई आग्रह गरे । अनशनमा बसिरहेएका केसीको जीवनरक्षामा गरिएका सम्पूर्ण प्रयासलाई साथ दिन पनि संघले आह्वान गरेको छ ।
विभिन्न सात सूत्रीय माग राखी आमरण अनशनमा बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभाग प्रमुख प्रा.डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै संघको आह्वानमा स्वास्थ्य सेवाअन्तर्गत बहिरङ्ग सेवालाई चिकित्सकले यही माघ ५ गतेबाट बन्द गरेका छन् ।
अध्यक्ष झाले अनशनमा डा केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएकाले तत्काल उनको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष डा केदारनरसिंह केसीले डा केसीका माग जायज भएका भन्दै यसले समग्र स्वास्थ्य क्षेत्रको शुद्धीकरणमा बल पुग्ने बताए ।